उपेन्द्र सुब्बाको निर्देशनमा ‘बखत्ते’, मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बखत्ते’को ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन्।

निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले नयाँ चलचित्र ‘बखत्ते’ निर्देशन गर्ने भएका छन्। विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहने चलचित्रको शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ।

आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको ‘बखत्ते’को कथा पनि निर्देशक सुब्बाले नै लेखेका हुन्।

चलचित्रमा विपिन र मिरुनासँगै शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ।

सुब्बाको पछिल्लो निर्देशन ‘जारी २’ हो। चलचित्रलाई लिएर आफूले लामो समय तयारी गरेको निर्देशक सुब्बाले बताएका छन्।

“मैले लामै समय लिएर बखत्ते निर्देशन गर्न लागेको छु । यो कथा चाहिँ दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ,” निर्देशक सुब्बाले भने, “इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु । आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ ।”

‘बखत्ते’का निर्माता आशिष तामाङ र प्रदीपजी धामी हुन्। कार्यकारी निर्मातामा युवराज काफ्ले छन् भने अञ्जु पाण्डे र पुष्कर घिमिरे सह–निर्माता रहेका छन्।

चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन्। साउन्ड डिजाइनको जिम्मेवारी उत्तम न्यौपानेको रहनेछ। चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई छन्। हेड अफ प्रोडक्सनमा दिलीप पन्त र प्रोडक्सन म्यानेजरमा रबिन बखरेल रहेका छन्।

चलचित्रमा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ। गीत युवराज काफ्ले र दानबहादुर कार्कीले लेख्नेछन्। मेकअप तथा हेयरको जिम्मेवारी स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)ले सम्हाल्नेछिन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम)को रहनेछ।

मुभिज डिजिटेनमेन्ट चलचित्रको डिजिटल पार्टनर हो। ‘बखत्ते’लाई काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट र काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले वितरण गर्नेछन्।

SUBSCRIBE 👉