
लोकदोहोरी संगीतमा लोकप्रिय खेम सेन्चुरी अब ठूलो पर्दामा अभिनेताका रूपमा देखिने भएका छन्। निर्माता तथा निर्देशक नारायण रायमाझीको नयाँ फिल्म ‘बसन्ती’बाट खेमले अभिनय यात्रा सुरु गर्दैछन्, जहाँ उनको जोडी टेरिया फौजा मगरसँग बाँधिएको छ।
फिल्मको शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गरिएको थियो। निर्माण पक्षका अनुसार असोज ३ गते शनिबारदेखि काठमाडौंमा छायांकन सुरु गरिएको छ। फिल्म काठमाडौंसँगै पाल्पा, जनकपुर, बुटवल र भारतका विभिन्न स्थानमा खिचिनेछ।
‘बसन्ती’ नारायण रायमाझीको चौथो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरिसकेका छन्।
फिल्मको मुख्य भूमिकामा खेम सेन्चुरी र टेरिया फौजा मगर छन्। उनीहरूसँगै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, विजया पौडेल र हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
लोकदोहोरी गायक तथा संगीतकारका रूपमा स्थापित खेमका लागि ‘बसन्ती’ अभिनयको पहिलो फिल्म हुनेछ। उनी यसअघि झरना थापाको ‘ए मेरो हजुर ५’मा संगीतकारका रूपमा फिल्म क्षेत्रमा जोडिएका थिए।
टेरियाले पनि ‘बसन्ती’लाई आफ्नो विशेष यात्राका रूपमा लिएकी छन्। फिल्मको मुहूर्तपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले नारायण रायमाझीसँग काम गर्न पाउनुलाई खुशी र सौभाग्यको अवसर बताएकी छन्।
खेमसँग पर्दा साझा गर्न पाएको प्रसंगमा टेरियाले लेखेकी छन्, “एउटै गाउँका हामी आज एउटै फ्रेममा, यो क्षण मेरो लागि साँच्चिकै विशेष छ।” उनले नयाँ यात्राका लागि दर्शकसँग माया र आशीर्वादसमेत मागेकी छन्।
रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बन्ने फिल्ममा निर्देशक रायमाझी स्वयं निर्माताका रूपमा छन्। कथा रमेश बीजीले लेखेका हुन् भने नारायण रायमाझी र बीबी अनुरागीले संगीत दिनेछन्। शिव ढकालले छायांकन र नहकुल खड्काले सम्पादन गर्नेछन्। रोशन विश्वकर्मा र रविता मगर कोरियोग्राफरका रूपमा जोडिएका छन्।
फिल्मका गीतमा रमेश बीजी, लालगोपाल सुवेदी, बीबी अनुरागी र नारायण रायमाझीको शब्द रहने जनाइएको छ। निर्माण पक्षले भने ‘बसन्ती’को मूल कथावस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
‘बसन्ती’ शीर्षकमा यसअघि पनि नेपाली फिल्म निर्माण भइसकेको छ। २०५७ सालमा नीर शाहले डायमण्ड शमशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित फिल्म निर्देशन गरेका थिए। नारायण रायमाझीको नयाँ ‘बसन्ती’को कथासँग उक्त फिल्मको सम्बन्धबारे निर्माण पक्षले कुनै जानकारी दिएको छैन।

