नेवा फिल्म फेस्टिबलमा १७ फिल्म


Newari-Film-Silu

ग्ल्यामर नेपाल, काठमाडौं । मच्छिन्द्र क्लबको आयोजनामा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘नेवाः फिल्म फेस्टिभल’को तेस्रो संस्करण आगामी भदौ २१ गतेदेखि शुरु हुने भएको छ । मच्छिन्द्र बहाल अगाडिको डबलीमा खुल्ला रुपमा फिल्म प्रदर्शन गरिने भएकाले दर्शक र फिल्मकर्मी बीच गहिरो नाता कायम हुने फेस्टिभल आयोजक समितिका पवित्र कसाःले बताए ।

नेपालको सबैभन्दा गरिमामय साँस्कृतिक जात्राको रुपमा मानिंदै आएको एक साताव्यापी इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आएको ‘नेवाः फिल्म फेस्टिभल’ अन्तर्गत यो वर्षदेखि एउटा ‘नेवाः सर्ट फिल्म कम्पिटिशन’ पनि नियमित रुपमा आयोजना गर्दै लाने कुरा क्लबका अध्यक्ष जीवेन्द्र कर्माचार्यले जनाए ।

यो वर्ष पहिलो पटक आयोजना गरिएको ‘नेवाः सर्ट फिल्म फेस्टिभल’का लागि १७ वटा छोटा फिल्महरु प्रतिष्पर्धी छन् भने डकुमेण्ट्री विधामा भने तीनवटा मात्र फिल्म प्रतिस्पर्धामा छन् । यी दुवै विधामा एक–एक फिल्मलाई उत्कृष्ट फिल्मको रुपमा २५–२५ हजार पुरस्कार दिइने कुरा फेस्टिभल आयोजक समितिका सदस्य शैलेश राजभण्डारीले बताए ।

महोत्सवका लागि वरिष्ठ फिल्म पत्रकार र निर्देशक विजयरत्न तुलाधर(असंबरे)को संयोजकत्वमा वरिष्ठ फिल्म सम्पादक मन्दिल श्रेष्ठ, वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ, फिल्म ‘झोला’का छाँयाकार दीपक बज्राचार्य, फिल्म ‘राजमति’की नायिका हिसिला महर्जन र पत्रकार एवं साहित्यकार सुरेश किरण रहेका छन् ।

SUBSCRIBE 👉