विवादमा ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत, द्रौपदीको प्रस्तुतिमाथि प्रश्न

‘राजा चाहिया छ’ गीतमा इभा गिरीको प्रस्तुति र हरिवंश आचार्यको भूमिकालाई लिएर केही दर्शकले प्रश्न उठाएका छन्। निर्देशकले भने पौराणिक बिम्बमार्फत समकालीन समाजको कथा भनिएको बताएका छन्।

Composite image of Hari Bansha Acharya wearing an ornate crown in the Panch Pandav trailer and Eva Giri in a dance costume from Raja Chahiya Chha.

Hari Bansha Acharya and Eva Giri in the song Raja Chahiya Chha, from the Movie Panch Pandav which has drawn criticism over its portrayal of mythological characters. Image: Composite of screenshots from the trailer and song video.

फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएपछि पौराणिक पात्रहरूको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। विशेषगरी द्रौपदीको भूमिकामा रहेकी इभा गिरीलाई क्यासिनोको परिवेशमा नृत्य गर्दै देखाइएको दृश्यप्रति केही दर्शकले आपत्ति जनाएका छन्।

आलोचना गर्नेहरूले महाभारतसँग जोडिएका पात्रका नाम र पहिचान प्रयोग गर्दा धार्मिक तथा सांस्कृतिक संवेदनशीलताको ख्याल गर्नुपर्ने बताएका छन्। द्रौपदीको यस्तो प्रस्तुति उनको पौराणिक छविसँग मेल नखाने उनीहरूको तर्क छ।

विवादसँगै फिल्ममा युधिष्ठिरको भूमिका निर्वाह गरेका वरिष्ठ कलाकार हरिवंश आचार्यको सहभागितामाथि पनि प्रश्न उठेको छ। लामो समयदेखि हास्यव्यङ्ग्य र अभिनयमा सक्रिय आचार्यले यस्तो प्रस्तुतिमा काम गर्नु उचित नभएको टिप्पणी केही दर्शकले गरेका छन्।

आलोचनाबीच निर्देशक वसन्त निरौलाले फिल्मलाई धार्मिक कथाका रूपमा नबुझ्न आग्रह गरेका छन्। उनका अनुसार महाभारतका पात्र र बिम्बलाई प्रतीकका रूपमा प्रयोग गरेर वर्तमान नेपाली समाजको कथा प्रस्तुत गरिएको हो। उनले फिल्मले कुनै धार्मिक आस्थामाथि प्रहार नगरेको दाबी गर्दै दर्शकलाई पूरा फिल्म हेरेपछि धारणा बनाउन आग्रह गरेका छन्।

‘राजा चाहिया छ’ गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ। सशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतले उपयुक्त जीवनसाथी खोजिरहेकी युवतीको भाव प्रस्तुत गर्छ। (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

वसन्त निरौलाको निर्देशन र सुशील पौडेलको लेखन रहेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ। फिल्म कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा छ।

SUBSCRIBE 👉