सिक्किममा ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, अघि बढ्दै विपिन र मिरुनाको अधुरो प्रेमकथा

सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सिक्किमको युमथाङ उपत्यकाबाट सुरु भएको छ। नवीन चौहानको निर्देशनमा बन्ने चलचित्रमा विपिन कार्की र मिरुना मगरको अधुरो प्रेमकथाले निरन्तरता पाउनेछ। पहिलो दिन भारतीय अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएका छन्।

सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु भएको छ। निर्देशक नवीन चौहानले भारतको सिक्किमस्थित युमथाङ उपत्यकाबाट चलचित्रको छायांकन सुरु गरेका हुन्। अघिल्लो चलचित्रमा दर्शकले रुचाएका पात्र र उनीहरूको अधुरो प्रेमकथालाई नयाँ मोड दिने तयारीसहित निर्माण टोली छायांकनमा जुटेको हो।

स्थानीय लामा गुरुहरूको मन्त्र उच्चारण र विशेष पूजाआजासहित चलचित्रको शुभमुहूर्त गरिएको थियो। निर्देशक चौहानका अनुसार छायांकनको पहिलो दिन भारतीय अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएका छन्। (भिडियो हेर्न स्क्रोल गर्नुहोस्)

शुभमुहूर्त कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो। निर्देशक चौहानले सिक्किममा छायांकन सुरु गर्न पाएको सहयोग र शुभकामनाप्रति आभार व्यक्त गरेका छन्।

सन् २०२५ मा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ले प्रेम, सम्बन्ध, सामाजिक परिवेश र मानवीय संवेदनालाई केन्द्रमा राखेर दर्शकको मन जितेको थियो। विपिन कार्की र मिरुना मगरको अभिनयसँगै चलचित्रको कथा र संगीतले पनि चर्चा पाएको थियो।

त्यही कथालाई निरन्तरता दिन निर्देशक चौहानले ‘कलेजी-ऊनको स्वीटर’ निर्माण गर्न लागेका हुन्। यसअघि उनले दर्शकबाट अधुरो प्रेमकथालाई अगाडि बढाउन आग्रह आएपछि सिक्वेल बनाउने निर्णय गरेको बताएका थिए।

नयाँ चलचित्रमा विपिन कार्की र मिरुना मगर पुनः मुख्य भूमिकामा देखिनेछन्। अघिल्लो भागमा विपिनले निर्वाह गरेको धरणीधर र मिरुनाले निभाएको फूलको पात्रको प्रेमकथाले सिक्किमबाट नयाँ यात्रा सुरु गर्नेछ।

निर्देशक चौहानका अनुसार नयाँ चलचित्रले अघिल्लो भागका काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै प्रेम, जीवन र मानवीय सम्बन्धका थप आयाम प्रस्तुत गर्नेछ। यसपटक कथा र पात्रहरूको संसारलाई नेपालबाहिरसम्म विस्तार गर्ने उनको योजना छ।

“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्।

चलचित्रको अर्को आकर्षण भारतीय अभिनेता, लेखक तथा संगीतकर्मी पीयूष मिश्रा हुन्। उनीसँगै एलेक्स पारस, परीक्षा लिम्बू र टेरिया मगरलगायत कलाकारको उपस्थितिले सिक्वेलमा नयाँ पात्र र सम्बन्धहरू थपिने संकेत गरेको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।

निर्माण टोलीले सिक्किमसँगै दार्जिलिङ, दिल्ली र नेपालका विभिन्न स्थानमा चलचित्रको छायांकन गर्ने योजना बनाएको छ। यसअघि पाँचथरको परिवेशमा प्रस्तुत गरिएको कथालाई यसपटक फरक भूगोल र नयाँ परिस्थितिसँग जोडेर अगाडि बढाइनेछ।

आर्टमाण्डुको निर्माणमा बन्न लागेको चलचित्रको कथा, पटकथा तथा निर्देशन नवीन चौहानले सम्हालिरहेका छन्। अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशक हुन्। चिन्तन राजभण्डारीले छायांकन र कोविद बज्रले संगीतको जिम्मेवारी सम्हालेका छन्।

गत अगस्टमा औपचारिक घोषणा गरिएको ‘कलेजी-ऊनको स्वीटर’लाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। यद्यपि, चलचित्रको निश्चित प्रदर्शन मिति सार्वजनिक गरिएको छैन।

‘ऊनको स्वीटर’मा दर्शकले देखेको धरणीधर र फूलको अधुरो प्रेमकथा अब कुन मोडमा पुग्छ भन्ने जिज्ञासा नयाँ चलचित्रको मुख्य आकर्षण रहनेछ।

SUBSCRIBE 👉