जनकवि केशरी धर्मराज थापा, अव केवल सम्झनामा मात्र


JanaKabi Keshari Dharmarah Thapa |  Portrait by Basu Kshitiz

JanaKabi Keshari Dharma Raj Thapa | Portrait by Basu Kshitiz

ग्ल्यामर नेपाल, काठमाडौं ।
‘हरियो डाँडा माथि हलो जोत्ने साथी…’ का सर्जक जनकवि केसरी धर्मराज थापा अब हामीबीच रहेनन्। हिमालदेखी तराईसम्म उत्तिकै लोकप्रिय रहेका थापाको मंगलबार ९२ वर्षको उमेर राजधानीस्थित स्वयम्भुमा निधन भएको हो। उनी उच्च रक्तचाप र प्यारालाइसिसबाट पीडित थिए।

विक्रम सम्वत १९८१ सालमा पोखराको बाटुलेचौरमा जन्मिएका उनी राणा शासनको चरमतामा हुर्किएका हुन। प्रजातन्त्रका लागि गाउँ गाउँ जगाएका थापा आम नेपालीका कविका रुपमा चिनिन्छन्। ‘हरियो डाँडा माथि हलो जोत्ने साथी…’ ‘घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली…’, ‘आज मादल बजेको किन…,’ ‘धुरुधुरु नरोऊ आमा…’, ‘तिम्रो आँसु पुछेर छाडौँला…’, ‘हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा…’ जस्ता गीत जनजनसम्म पुर्‍याएका थिए।

जनजिब्रोको लय, भाषा, मौलिकतालाई टपक्क टिपेर हरेक नेपालीको आफ्नो बनाउन सक्ने उनको अद्धितीय प्रतिभा चीर स्मरणीय रहने छ। २०१३ सालमा जनकवि केसरी थापालाई तत्कालिन राजा महेन्द्रले जनकवि केसरीको उपाधि दिएका थिए। कर्मचारी उक्साएको आरोपमा २००८ सालमा गोर्खापत्रको मुखिया पदबाट खोसुवामा परेका उनी त्यसपछि डा. केआई सिंहको विद्रोहका समर्थक बने। १ वर्ष जनकवि केशरी थापाले भारतको देहरादुन, आसाम, दाजिलिर्ङ, सिक्किम लगायतका शहरमा लोक भाका स्थापित गरे।

उनको ‘मालती मङगले’ काव्यलाई २०२५ सालमा मदन पुरष्कार प्राप्त भएको थियो। २०५७ सालमा गुठीले उनलाई जगदम्बा श्री पुरष्कार प्रदान गरेको थियो। उनका २९ वटा कृति र १ सय भन्दा बढी गीत सार्वजनिक भएका छन्। थापाको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ। त्यसअगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो।