क्युइन्स वल्र्ड फेस्टिभल : उत्कृष्ट तीन विधामा ‘डाइङ क्यान्डल’


दिदीभाईबीचको आत्मीयताको कथा मार्मिक र कलात्मक शैलीमा पोखेको फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा उत्कृष्ट तीन विधामा मनोनित भएको छ। डा. नरेश कुमार केसी निर्देशित यस फिल्म उत्कृष्ट फिल्मसहित सिर्जना सुब्बा उत्कृष्ट हिरोइन, दिपांकर सिग्देर र रविन आचार्य उत्कृष्ट छाँयाकारमा मनोनित भएका हुन्। फेस्टिभल मार्च १५ देखि २० सम्म अमेरिकाको न्यूर्योकामा हुँदैछ। ‘डाइङ क्यान्डल’ १९ मार्चमा स्क्रिनिंग हुने फेस्टिभलको अफिसियल वेवसाइटमा उल्लेख गरिएको छ।

फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

Dying Candle Nepali Movie‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भगरिएको थियो। उक्त फेस्टिभबाट पाएको सकारात्मक प्रतिक्रियाले आफ्नो हौसला बढाएको निर्देशक केसीले बताए। ३ मार्चमा यस फिल्म युनिभरसिटी अफ साउर्दन क्यालिफोर्निया (युएसस्सी) को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा पनि फिल्मको स्क्रिनिंग भएको थियो। निर्देशक केसीले सोहि कलेजबाट फिल्म एन्ड टेलिभिजन प्रोडक्सनमा स्नात्तकोत्तर गरेका हुन्। केसीले युएसस्सीमा स्नात्तकोत्तर गर्नु अगाडी न्युर्योक फिल्म एकाडेमीमा एक सेमेस्टर पढेका थिए। त्यसबाहेक उनले ओस्कारमा फिल्म स्टडिजमा स्नातक, शंकरदेव क्याम्पसबाट एमबिएस र त्रिभुवन विश्वविद्यालय केन्दि्रय क्याम्पसबाट अंग्रेजी साहित्यमा एमए गरेका छन्। विकास बोर्डले गरेको राष्ट्रिय स्तरको स्क्रिप्ट लेखन प्रतियोगितामा उनले लेखेको फिल्म युवाले प्रथम पुरस्कार जितेको थियो, जतिबेला उनी ओस्कारमा पढ्दै थिए। युएसस्सी पढ्ने उनी पहिलो नेपाली पनि हुन्। युएसस्सीमा त्यहाँ अध्ययनरत विद्यार्थीहरु सहित प्राध्यापक जेनिफर वारेन, अमान्डा पप, स्पाइडर म्यानबाट भिएफएक्समा ओस्कार जितेका डाक्टर पउल डिभेबेकलगाएतका विश्व विख्यात फिल्मकर्मीले ‘डाइङ क्यान्डल’ हेरेपश्चात कथावस्तु र प्रस्तुती शैलीको प्रसंशा गरेका थिए।

नेपालबाट अभिनेता अर्पण थापा तथा निर्माताद्वय रविन आचार्य र उत्तम केसी सहभागी हुने निर्देशक केसीले बताएका छन्। ‘डाइङ क्यान्डल’को पटकथा निर्देशक केसीले अमेरिका बस्दै लेखेका थिए।

फिल्ममा मुख्य भूमिका रहेका बालकलाकार लाक्पा सिंगीलाई लामो समय प्रशिक्षण गराएपछि केसीले अभिनय गराउन सफल भएका थिए। फिल्ममा सिंगीले खारिएको कलाकारजस्तै जीवन्त अभिनय गरेका छन्। फिल्ममा सिर्जना, सिंगी, अर्पणसहित सौगात मल्ल र विद्या कार्कीको पनि मुख्य भूमिका रहेको छ। रंगकर्मी विमल सुवेदी पनि फिल्मको निर्माता तथा कास्टिङ डाइरेक्टर हुन्।

नेपालमा भने डाइङ क्यान्डल अर्को वर्षको असारमा रिलिज हुने भएको छ । वितरण अधिकार गोविन्द शाहीले लिइसकेका छन् ।

SUBSCRIBE 👉