आमा अभिनेत्री, काखमा छोराछोरी, मनमा अभिनयको हुटहुटी

Actress Sanchita Luitel with her Children. Photo Source: Ravi Manandhar / Kantipur

पाँच वर्षदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी अभिनेत्री सञ्चिता लुइँटेल हरेक साँझ गौशालास्थित कलिउड प्लानेट पुग्छिन्। अढाई वर्षको छोरा र डेढ वर्षकी छोरीकी आमा सञ्चिता दुई घन्टा कडा शारीरकि अभ्यास गर्छिन्। बच्चा जन्माइसकेपछि ८६ किलो पुगेको शरीरलाई फेरि ४५ किलोमै झारेर पहिलेझैँ स्लिम बन्ने प्रयासमा छिन् उनी। कुनै समयकी चर्चित हिरोइन सञ्चिताको यो कडा मिहिनेत फिल्ममा कमब्याककै लागि हो भनेर अनुमान लगाउन गाह्रो छैन। भन्छिन्, “शरीर पनि मेन्टेन गर्नुपर्‍यो नि!”

अढाई महिनाअगाडि फिल्म बितेका पलको प्रिमियरमा उनको मोटो ज्यान देखेपछि दर्शकदीर्घामा गाइँगुइँ चल्यो, अझ केही वर्ष उनी फिल्ममा र्फकन सक्ने छैनन्। तर, यो अढाई महिनाको बीचमा उनले आफ्नो शरीर निकै छरितो बनाइसकेकी छन्।

सञ्चिताले २०५८ सालमा डा भोला रिजालको अप्सरा फिल्मबाट डेब्यु गरेकी हुन्। त्यसयता उनले ७८ वटा फिल्ममा मुख्य भूमिका निर्वाह गरसिकेकी छन्। आकाश साहसँगको विवाह र त्यसलगत्तै भएको सम्बन्धविच्छेदले उनको करिअरमा कुनै असर पुर्‍याएन। लगातार फिल्म पाइन्, खेलिरहिन्। पाँच वर्षअघि निखिल उप्रेतीसँग दोस्रो विवाह गरेपछि भने उनी एक्सन-कटदेखि टाढा रहँदै आएकी छन्। बच्चा स्याहार्नमै उनको दिन बितिरहेको छ। अब पुनःआगमनका लागि उचित फिल्मको पर्खाइमा छिन्।

सञ्चिता अहिले बानेश्वरस्थित माइतीमा बस्छिन्। घरमा आमा र बहिनीहरू भएकाले बाहिर निस्कन खासै गाह्रो नपर्ने उनले सुनाइन्। भन्छिन्, “अहिले पनि मेरो पहिलो प्राथमिकता छोराछोरी नै हुन् तर सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन थालेकी छु।” महिना दिनअगाडि सांस्कृतिक कार्यक्रमका सिलसिलामा एक साताका लागि मलेसिया पुगेपछि उनको आत्मविश्वास अझै बढेको छ।

Actress Arunima Lamsal and Daughter / Photo Source: Ravi Manandhar / Kantipur

सञ्चिताकै समकक्षी अर्की नायिका अरुणिमा लम्साल पनि फिल्ममा फर्कने सुरसार गर्दै छिन्। उनकी छोरी अढाई वर्षकी भइसकेकी छन्। भलै छोरी पाएको तीन महिना नबित्दै उनी उर्वशी फिल्ममा अभिनय गर्न पाल्पा पुगेकी थिइन्। तर, छोटो भूमिका भएकाले उर्वशी फलदायी हुन सकेन। आमा बनिसकेपछि अभिनय गरेका अन्य दुई फिल्म पीपल र जनैको साँचो रिलिज भएका छैनन्। जनैको साँचोको अझ सुटिङ् पनि सकिएको छैन। तर, यी दुई फिल्मप्रति उनी उत्साही देखिन्नन्। लिड रोलकै प्रतीक्षामा छिन् उनी। भन्छिन्, “खोइ किन हो ? पहिलेजस्तो अफर आउँदैन। आउटडोर सुटिङ्का कारण पनि कति फिल्म छाड्नुपरेको छ।”

०५८ सालमा यस्तै रहेछ जिन्दगानीबाट डेब्यु भएकी अरुणिमाले बैंकर अमित अर्यालसँग विवाह गरेको आठ वर्ष पुग्यो। विवाह बन्धनमा बाँधिँदा फिल्ममा काम गर्न अरुणिमालाई समस्या परेन। पतिकै सहयोगका कारण आफूले विवाहपश्चात् दुई दर्जनभन्दा बढी फिल्म खेलेको उनी सुनाउँछिन्। तर, आमा बनेपछि चाहेर पनि फिल्म खेल्न सकेकी छैनन्। अघिल्लो वर्ष अमित अमेरकिा उडेपछि त छोरी हुर्काउने जिम्मा उनकै काँधमा आएको छ।

घरमा अरू कोही नभएकाले बाहिर निस्कन उनलाई गाह्रो छ। त्यसैले अचेल उनको दिन बालकोटमा छोरीको हेरचाह गर्दै बितिरहेको छ। तर, फिल्ममा ‘पावरफुल रोल’को अफर आए जसरी पनि समय मिलाउने उनको भनाइ छ। यही भनाइबाट उनको फिल्मप्रतिको मोह प्रस्ट हुन्छ। तर, समस्या उही छ, लिड रोलमा पत्याउने निर्देशक उनले भेटेकी छैनन्। उनलाई हरेक फिल्ममा लिने निर्देशक नरेश पौडेल निष्क्रिय छन्। पौडेलको निष्क्रियताको साइड एफेक्ट अरुणिमालाई परेको छ।

Actress Melina Manandhar and Daughter / Photo Soirce: Ravi Manandhar / Kantipur

आमा भइसकेपछि फिल्मको रंगीन दुनियाँबाट ओझेलमा परेकी अर्की नायिका हुन्, मेलिना मानन्धर। ०४९ सालमा प्रियसीबाट हिरोइनको रूपमा डेब्यु भएकी मेलिनाले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन्। उनले ६ वर्षअघि नायक मुकेश ढकालसँग विवाह गरेकी थिइन्। विवाहपश्चात् पनि हलचल, भूल भए माफ गर, कसलाई दिऊँ यो जोवनजस्ता आधा दर्जन फिल्ममा अभिनय गरनि् तर सबै असफल भए। उसो त उनले आमा बनिसकेपछि पनि दुई फिल्म कृष्णा गौतमी र धम्मावतीमा अभिनय गरसिकेकी छन्। दुवै फिल्म रिलिज हुन बाँकी छ। तर पनि उनी त्यति धेरै उत्साही छैनन्। “दस वर्षअगाडि मेरो जति चार्म थियो, अहिले त्यति नै छ भन्दिनँ। नयाँजतिको हुन गाह्रो छ,” उनी भन्छिन्, “तर, फेरि हामीसँग केही विशेष क्षमता पनि छ, जुन नयाँसँग कम हुन्छ।” उनी सकेसम्म लिड रोल, त्यसमाथि पनि हिरोइनकै भूमिकामा काम गर्न चाहेको बताउँछिन्।

सञ्चिता, मेलिना र अरुणिमा हिरोइनकै भूमिकामा कमब्याक हुने प्रयास गररिहेका छन्। तर, आमा बनेपछि हराउँदै गएको चार्म र नयाँ नयाँ नायिकाको प्रवेशका कारण निर्माता-निर्देशकको आँखामा परिहाल्न गाह्रो छ। पति निखिलको सहयोग, बच्चा छाडेर बाहिर निस्कन सक्ने वातावरण र शरीर मेन्टेन गरेका कारण सञ्चितालाई केही सहज हुने देखिन्छ। तर, अरुणिमा र मेलिनामा हिरोइन भएर पर्दामा देखिने चाह भए पनि उनीहरूले आवश्यक तयारी गरेका छैनन्। त्यसैले उनीहरू फेरि पहिलेझैँ पर्दामा जम्ने विश्वास कमै फिल्मकर्मीलाई मात्र छ। “आमा, दिदी, सासूजस्ता भूमिका त पाउलान् तर प्रेमिका बनेररोमान्स गर्ने सम्भावना निकै कम छ,” एक फिल्मकर्मी भन्छन्, “फ्रेस नायिकाका सामु आमा बनिसकेको अनुहार फिक्का हुन्छ, हुन्छ।” त्यसमाथि नयाँ नायिकाजसरी ‘सम्झौता’ गर्न नसक्ने भएकाले पनि आमा हिरोइनहरू किनारा लाग्दै जाने ती फिल्मकर्मीको दाबी छ।

सञ्चिताको बुझाइमा चार्मिङ् र अट्रयाक्टिभ भयो भने उमेर, विवाह वा सन्तानले हिरोइन बन्न छेक्दैन्। “लुक्स राम्रो छैन भने १८ वर्षकी सबै केटी हिरोइन हुन्छन् त ?” उनी प्रश्न गर्छिन्। उनी नेपाली अभिनेत्री करिश्मा मानन्धर र भारतीय अभिनेत्री काजोलको उदाहरण अघि सार्छिन्। अरुणिमा पनि सञ्चिताको कुरामा सहमत छिन्। क्षमता छ भने फिल्म खेल्न केही कुराले नरोक्ने उनको भनाइ छ। लिड वा सहायकभन्दा पनि अर्थपूर्ण भूमिका आफूले खोजिरहेको उनले बताइन्। “प्लस टु वा टिन एज केटीको भूमिका त म पनि खोज्दिनँ। त्यो सुहाउँदैन पनि,” अरुणिमा भन्छिन्, “तर, चरत्रि अभिनेत्री बन्ने बेला पनि भइसकेको छैन।”

जो चम्किए
नेपाली फिल्म क्षेत्रमा करिश्मा मानन्धर मात्र यस्ती हिरोइन हुन्, जसको करिअरमा विवाह र सन्तान कहिल्यै बाधक बनेनन्। आफूलाई तन्दुरुस्त राख्ने र समय मिलाउन सक्ने क्षमताका कारण रियल लाइफमा आमा भइसक्दा पनि उनले रिलमा नवजवान हिरोसँग रोमान्स गरेको दर्शकले रुचाए। खासमा छोरी कवितालाई जन्माएपछि नै उनको करिअर ‘पिक’मा पुगेको थियो। कविता १७ वर्ष पुगिसक्दा पनि करिश्मा उत्तिकै सुन्दर देखिन्छिन्। ‘ब्युटी आइकन’ मानिने उनलाई हिरोइनको भूमिका दिन निर्माता-निर्देशक हिच्किचाउँदैनन्। पछिल्ला केही फिल्ममा टिपिकल हिरोइनभन्दा चरित्र अभिनेत्रीको भूमिकामा देखिएकी भए पनि उनको ‘चार्म’ अझ ओरालो लागेको छैन।

Actress Karishma Manandhar and Daughter Kajol Manandhar / Photo by Glamour Nepal

आमा भइसकेपछि चम्कने अर्की हिरोइन् हुन्, झरना थापा। फिल्म निर्माता सुनील थापासँग विवाह गरेकी झरना छोरी जन्माएपछि पनि फिल्मबाट टाढा रहिनन्। पति नै निर्माता भएकाले पनि हिरोइनकै रूपमा पर्दामा देखिन उनलाई गाह्रो भएन। त्यसमाथि गाउँले र सहरिया दुवै भूमिका सुहाउने भएकाले झरना धेरै निर्माता-निर्देशकको रोजाइमा परिन्। तर, पछिल्लो केही समययता उनी पनि ओझेलमा पर्दै गएकी छन्। आफैँले निर्माण गरेको बिग बजेटको फिल्म फेसबुक असफल भएपछि उनी सिनेमा लाइनबाटै विरक्तिएको भन्नेहरू धेरै छन्।

करिश्मा र झरनाबाहेक मौसमी मल्ल, जेनी कुँवर, शुभेच्छा थापा, रागिनी खड्गी आमा भइसकेपछि पनि हिरोइनको भूमिका पाउने ‘भाग्यमानी’मा पर्छन्। तर, उनीहरू कोही सफल भएनन्। आफैँले लगानी गरेको बाहेक अन्य ब्यानरले उनीहरूलाई पत्याएको देखिँदैन। ऋचा घिमिरे पनि यही सूचीमा पर्छिन्। ब्रेक फेल फिल्मबाट निर्मात्रीसमेत बनेकी उनी फिल्म प्रदर्शनपछि आमा बनेकी थिइन्। फिल्ममा र्फकने प्रयास गरे पनि मोटो शरीरले साथ दिएन। केही समययता उनी आफैँले निर्माण गरेको फिल्म तुलसीको प्रदर्शनको बहानामा पति शंकर घिमिरेसँगै विदेशमा छिन्। भुवन केसीसँग सम्बन्धविच्छेद भएको भनिएकी सुस्मिता केसीको पनि फिल्ममा जम्ने सपना पूरा भएन। छोरो अनमोल फिल्मको हिरो बनेपछि उनी गुमनामजस्तै बनेकी छन्।
– गोकर्ण गौतमको प्रस्तुति  (नेपाल साप्ताहिक बाट साभार गरिएको)
करिश्मा मानन्धर र छोरी – तस्वीर :  ग्ल्यामर नेपाल
मेलिना मानन्धर / अरुणिमा लम्साल / संचिता लुइँटेल – तस्वीर : रवि मानन्धर / कान्तिपुर

SUBSCRIBE 👉