तीन करोड लगानी गर्दै १५ सय वर्ष अघिको कथामा फिल्म निर्माण हुने


१५ सय वर्ष अघिको ऐतिहासिक कथामा फिल्म निर्माण हुने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मिथिलाका राजा सलहेसको गाथामा आधारित ‘सलहेसः द पिपुल्स हिरो’ फिल्म निर्माण हुने घोषणा गरिएको हो।

sahalesh-nepali-film

भोर कम्पनीप्रा.लि को प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिला राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन्। उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ। ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए।

फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन। शाहले यस्तो ऐतिहासिक कथामाथि फिल्म बनाउने जिम्मेवारी पाउनु आफैमा चुनौतीपुर्ण रहेको बताए। उनको यो पहिलो फिचर फिल्म हुनेछ। भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो-भिज्युअल मिडियामा कार्यरत छन्। ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’बनाएका छन्। यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरुमा यो फिल्मको छायाँकन हुने बताईएको छ। करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्ने छन्। करिव ६ महिनाको प्रि-प्रडक्सन कार्य पश्चात यो फिल्म फ्लोरमा जाने छ।

यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसर लगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन्। फिल्मका कलाकारहरु पक्का भइसकेका छैनन्।

यो फिल्ममा डा. राजेन्द्र विमलको कथा, महेन्द्र मलगिंयाको संवाद र निर्देशक शाहकै पटकथा रहनेछ। त्यसैगरी फिल्ममा सुनिल-प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र इश्वर दाहालको गीत रहने कार्यक्रममा जानकारी दिइयो। भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्डमा अनुपम शाह रहेका छन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉