१५ मुलुकहरुमा ‘राहदानी’को च्यारिटी शो हुने


rahadani-agreementग्ल्यामर नेपाल, काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरुको कथा भन्ने नेपाली फिल्म ‘राहदानी’को विश्वका विभिन्न १५ मुलुकमा च्यारिटी शो गरिने भएको छ। ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले विदेशसँगै नेपालका २५ स्थानमा च्यारिटी शो गर्ने भएको हो। सम्झौतापत्रमा मंगलबार राजधानीमा आयोजित एक समारोहकाबीच फिल्म निर्माण कम्पनी सिनेमनवल इन्टरप्राईजेज प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र ‘मातृभूमिकालागि युवा अभियान’ नेपालका अध्यक्ष सुनिल खडकाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैशाखबाट असार मसान्तसम्म विभिन्न १५ देशमा राहदानीको च्यारिटी गरिेने छ।

संस्थाले थाईल्याण्ड, मलेशिया, जापान, इजरायल, कतार, हङकङ, सिागापुर, मकाउ, दक्षिण कोरिया, डेनमार्क, स्पेन, इटाली, अष्ट्रेलिया, बेलायत र सायुक्त राज्य अमेरिकामा प्रतिदेश एक शोका दरले बिशेष प्रदर्शनी गर्ने भएको हो। यस्तै नेपालको काठमाडौं उपत्यकासहित २५ स्थानमा पनि सोही समयमा प्रति स्थान एक शोका दरले च्यारिटी गर्ने खड्काले जानकारी दिएका छन्। पहिलो चरणमा १५ मुलुकमा प्रदर्शन गरेपछि बाँकी मुलुकमा पनि प्रदर्शन गर्ने योजना रहेको उनले सुनाए। आफ्नो संस्थाले गर्दै आएको काम र उठाएको बिषयबस्तु चलचित्र ‘राहदानी’मा समेटिएकाले आफुहरुले च्यारिटी शोका लागि यो सिनेमा चयन गरेको पनि खडकाले प्रकाश पारे।

नेपाली चलचित्र निजी क्षेत्रबाट आफ्नो प्रयासमा विभिन्न देशमा च्यारिटी शो गरिएको बेला आफुहरुले चलचित्रको विकाशका लागि संस्थागत रुपमा यो चलचित्रको च्यारिटी गर्न लागेको पनि अध्यक्ष खडकाले प्रकाश पारे। फिल्मका प्रस्तुतकर्ता ढकालले यो प्रदर्शनले नेपाली चलचित्रको विदेशमा व्यवस्थित बजार बन्ने विश्वास व्यक्त गरे।

सञ्चारकर्मी डब्बु क्षत्रीको लेखन/निर्देशन रहेको ‘राहदानी’मा वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको विभिन्न समस्या समेटिएको छ । फिल्ममा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, नविन लम्साल, दिनेश दुलाल, मोनिका दाहाल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोसी, विधा कार्की, अंस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय छ।

SUBSCRIBE 👉