नोभेम्बर रेन : आर्यन र नम्रताको अग्निपरीक्षा


aryan-sigdel-and-namrata-shrestha-november-rainग्ल्यामर नेपाल, काठमाडौं । वैशाख १२ गते एउटा प्रतिक्षित फिल्म रिलिज हुँदैछ, नोभेम्बर रेन। प्रतिक्षित यस अर्थमा कि फिल्ममा पछिल्लो समयका चर्चित नायक आर्यन सिग्देलको लगानी रहेको छ। लगानी मात्र होइन्, उनले आफ्नो अनस्क्रिनकी हिट हिरोइन नम्रता श्रेष्ठसँग रोमान्स गरेका छन्। आर्यन र नम्रताले रोमान्स गरेको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ युवापुस्ताले निकै रुचाएका थिए। सोही पुस्ता अहिले ‘नोभेम्बर रेन’को प्रतिक्षामा छ। ताराप्रकाश लिम्बुको संगीत र मिडिया हाइपका कारण फिल्म सफल हुने धेरैको अनुमान छ। तर निकै आशा राखिएका फिल्म पनि असफल भएकोले रिलिज अगाडी नै ठोकुवा गर्ने स्थिती भने छैन्।

आर्यन र नम्रताका पछिल्ला सबै फिल्म असफल भइरहेका छन्। त्यसैले पनि उनीहरुको लागि यो फिल्म अग्निपरीक्षा हुनेछ। यो फिल्म पनि असफल भए दुवैको करिअरमा ठूलो धक्का लाग्ने पक्का छ। निर्देशक दिनेश राउतको करिअरमा पनि यो फिल्मले निकै अर्थ राख्नेछ। उनको पहिलो फिल्म ‘आइ एम सरी’ आशा गरिए अनुरुप सफल हुन सकेन। त्यस्तै, फिल्मका अर्का निर्माता सुवास गिरीको लागि पनि फिल्मको बक्सअफिस कलेक्सन निकै महत्वपूर्ण हुनेछ । उनले निर्माण गरेको यो पहिलो फिल्म हो। गिरी फिल्म प्रमोशनका लागि हालै मलेसियाबाट स्वदेश आएका छन्। पहिलो फिल्मनै असफल भए निरन्तरता निकै कष्टकर हुनेछ।

‘नोभेम्बर रेन’ रिलिज हुने दिन अरु कुनै नेपाली सिनेमाले अहिलेसम्म रिलिज डेट घोषणा गरेका छैनन्। निर्माण युनिटका लागि यो निकै सुखद पक्ष हो। सँगै मल्टिप्लेक्सका दर्शकले मात्र रुचाए भने पनि फिल्मको लगानी रिकभर हुन सक्दैन्। त्यसैले सिंगल स्क्रिन थिएटरका दर्शकको मन जित्नु फिल्मको सबैभन्दा ठूलो चुनौती हो।

SUBSCRIBE 👉