करौडौमा फिल्म बनाउने घोषणा मात्र ! फ्लोरमा जाने कहिले ?


तामझामका साथ घोषणा गर्ने, मिडियामा कभरेज पाउने तर फिल्म नबनाउने प्रवृत्ति हाबी हुँदै छ यतिबेला। यस्तो हल्का र क्षणिक चर्चाको लोभ हिरो हिरोइनभन्दा निर्माता / निर्देशकमा बढी देखिन्छ, जो फिल्म बनाउने फुर्ती लगाउँछन् तर फ्लोरमा नजाँदै अलप हुन्छन्।

jiwan-luitel-barshJiwan Luitel | Barsha Siwakoti

  • चंखे शंखे पंखे बनाएको टिमले प्रेमगीत र मीरा निर्माण उद्घोष गरेर ‘बन्डिङ’ देखायो। प्रेमगीत बन्यो तर मीराको अत्तो पत्तो छैन। बरू, निर्देशक सुदर्शन र निर्माता सन्तोष सेनबीच पानी बाराबार छ।
  • जीवन लुर्इंटेल र वर्षा सिवाकोटी खेल्ने भनिएको रामलीला अलपत्र छ तीन वर्षदेखि। वर्षालाई मिडियामा ल्याउन जीवनको आग्रहमा निर्देशक आरबीके शरदले हावाको भरमा यो फिल्मको घोषणा गरेको सूत्रको भनाइ छ।
  •  निश्चल बस्नेतको दिमाग खराब बनाउने घोषणा त्यत्तिकै अलपत्र परेको छ।
  • वीर विक्रम चलिरहँदा यसका निर्देशक मिलन चाम्सले दृष्टिविहीन युवतीको जीवनमा आधारित ब्लाइन्ड रक्स घोषणा गरेर काफी चर्चा बटुले। त्यसले वीर विक्रमको व्यापार बढाउन अप्रत्यक्ष भूमिका खेल्यो पनि। तर, ब्लाइन्ड रक्सलाई थाती राखेर अर्को फिल्म ह्याप्पी डेज तिर लागे।
  • दीपाश्री निरौलाले छ भने माया छपक्कै लाइदेऊ नामक फिल्मको घोषणा गरिन्। तर, त्यत्तिकै तुहियो। पछि छक्का पन्जा निर्देशन गरिन्।
  • निर्देशक शोभित बस्नेतले एभरेस्ट होटलमा मै हुँ नही नामको हिन्दी फिल्मको घोषणा गर्दा तीन लाख रुपियाँ सकियो तर तीन वर्ष बितिसक्दा पनि फिल्मको सुटिङ सुरु भएको छैन। शोभित फिल्मवृत्तबाट ओझेल परेका छन्।
  • हिन्दी फिल्म घोषणा गरेर फोकटमा छाउने अर्का निर्देशक हुन्, कमलकृष्ण। १० करोड रुपियाँको बजेटमा उनले बनाउने भनिएको तेरे इस्क मे को पत्तै नहुनुले चर्चा बटुल्नका लागि मात्र घोषणा गरिएको पुष्टि हुन्छ।
  • अन्डर द सेम स्काइ नामको बंगाली फिल्ममा अर्चना डेलाला खेल्ने खबरले फिल्मवृत्त तात्यो। ललितपुरको एक रेस्टुराँमा आफैँले पत्रकार बोलाएर हल्ला गरिन्। तर, निर्देशक तानफिन राखिफ र निर्माता तानभिर खलिद मात्र होइन, अर्चनाको पनि अत्तोपत्तो छैन।

भन्न त भनिन्छ नि, ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।’ फिल्म त झन् ‘सो–विज’। त्यसमाथि हिरोइनको ‘स्क्रिन टाइम’ थोरै हुन्छ। त्यसैले ‘स्क्यान्डल’ र ‘कन्ट्रोभर्सी’ रोज्नु रहर मात्र होइन, बाध्यता पनि भइदिन्छ। नाम बदनाम होस् तर गुमनाम नहोस्, बस् यत्ति भए पनि पुग्छ। तर, क्षणिक चर्चा दिलाए पनि अन्तत: यसले साख धुमिल्याउने र मनोरोगको सिकार हुने पुराना अभिनेता भुवन केसीको भनाइ छ। “फन्डाले फिल्म चल्दैन, कन्टेन्टले चल्छ। झन् अहिलेका दर्शक फिल्ममेकरभन्दा बाठा छन्, आफैँ छानेर हल पुग्छन्,” विवादका पर्याय मानिने यी अभिनेता आफैँ भन्छन्, “कन्ट्रोभर्सीमा पर्नु आफैँ मूर्ख हुनु हो, बेइज्जत पनि हुन्छ, करिअरबाट पनि पाखा परिन्छ।”

उसो त यो तीतो यथार्थ ज्ञात नहुने को होला र ? तर, विडम्बना ! स्क्यान्डलमा नपरी सेलिब्रेटी र हिट भइन्न भन्ने भ्रम हटे पो!

साभार : गोकर्ण गौतम / नेपाल साप्ताहिक

SUBSCRIBE 👉