यसरि जम्दैछिन् हलिउडमा नेपाली चेली अमृता आचार्य


पश्चिम अर्घाखाँची स्थित खाँचिकोट र कपिलवस्तु स्थित पुर्खयौली घर गाउँका स्थानीय भाकामा नाचेर कहिल्यै नथाक्ने अमृता आचार्य यतिबेला पश्चिमी फिल्मी दुनियाँमा आफ्नो अभिनयको चमत्कार देखाउँदै छिन्। २९ वर्षीय अमृताको बाल्यकाल नेपालमै बित्यो। अहिले उनि अमेरिका, बेलायत र नर्वेमा ब्यस्त छिन्।

लन्डनस्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्सबाट नाटक अभिनय कलामा स्नातक गरेकी अमृताले आफ्नै मुख्य भूमिका रहेको चर्चित ब्रिटिस आइटीभीको मेडिकल ड्रामा सो `द गुड कर्म हस्पिटल’ फेब्रुअरीबाट प्रसारण हुँदैछ। यो ड्रामामा उनि ब्रिटिस-एसियन जुनियर डाक्टर रूबी वाल्करको भूमिकामा देखिने छिन्।

प्रख्यात अमेरिकी टेलिभिजन एच.बि.ओ को शृंखला ‘गेम अफ थ्रोन’ मा महारानीकी सुसारे ‘इर्री’ को भूमिकाबाट ब्यवसायिक अभिनय यात्रामा पाइला टेकेकी हुन्। अमृताले अभिनय गरेको नर्वेली फिल्म ‘याई आर दिन्’ (म तिम्रो हो) नर्वेबाट सन् २०१३ मा ओस्कारको लागि मनोनयनमा समेत परेको थियो। सन् २०१४ मा अमृताकै अभिनय रहेको अर्को नर्वेली फिल्म ‘दोद स्नो -२’ अमेरिकी सुन्डान्स फिल्म फेस्टिबलमा प्रदर्शनी गरिएको थियो।

हाल नर्वेको टिभी-२ द्वारा प्रसारित लोकप्रिय सिरिज फ़्रिच्येन्त (सफाइ) मा अमृताको सरकारी वकिलको भूमिका छ। झन्डै ७७ करोड रुपैयामा निर्मित उक्त सिरिज जर्मनी, फ्रान्स, ब्रिटेन र न्युजिल्याण्ड लगायतका २१ राष्ट्रमा प्रसारणको लागि बिक्रि भएको छ। यसबाहेक उनले ब्रिटिस रोमान्टिक कमेडी ‘अमर, अकबर र टोनी’ मा समेत अभिनय गरेकी छिन्।

अमृता भन्छिन – ‘सानो छँदा गाउँमा हजुर बा, आमाको घर गएको र आफन्त र साथीसंगीसँग रमाइलो गरेको याद कहिल्यै पनि भुल्न सक्दिनँ।’ नाटकमा अभिनय गर्न रुचाउने अमृता उपयुक्त समय, कथा र भूमिका पाए नेपालमा पनि काम गर्न चाहन्छिन।

SUBSCRIBE 👉