पुजाको जन्मदिनमा सुदर्शनको अझै पनि


sudarshan-alok-pujaग्ल्यामर नेपाल, काठमाडौं । युवापुस्ताका निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मा बीचको अफेयर बेलाबेलामा सञ्चारमाध्यममा हटकेक बनिरहन्छ। सुदर्शनले यसअघि निर्माण गरेको फिल्म ‘मधुमाश’मा नायिका शर्मालाई लिएपछि यो जोडी थप चर्चित बनेको थियो। सुदर्शनले बुधबार आफ्नो नयाँ फिल्म ‘अझै पनि’को घोषणा गर्दा त्यो अवसर पनि पुजाकै जन्मदिनमा लिए।

नायिका सुष्मा कार्कीसँगको ब्रेकअप पछि एक्लिएका सुदर्शन केही समय अघिदेखि पुजासँग नजिकिएका छन्। त्यसैले उनले आफ्नो व्यानर सुदर्शन थापा प्रोडक्सनको नयाँ फिल्ममा पनि पुजालाई छुटाएनन्। सुदर्शन र पुजाको यो निकटताले पनि उनीहरुको प्रेमलाई खुलस्त पारेको छ। रोचक कुरा के छ भने उनी ‘अझै पनि’ मा निर्माता र नायक दुवैको भूमिकामा देखिँदैछन्। फिल्म निर्माणमा सुदर्शनलाई कष्ट्युम डिजाइनर पुनम गौतमले सघाउँदैछिन्। ‘निर्देशन पछि नायक हुने मौका शुरुवाती अवस्था हो, केही गर्ने कोशिस गर्दै दर्शकलाई चित्त बुझाउनेछु’ थापाले भने । कार्यक्रममा पुजाले जन्मदिनको केक पनि काटेकी थिईन्।

लामो समयदेखि म्युजिक भिडियो निर्देशनमा आफ्नो अब्बलता देखाउँदै आएका निर्देशक आलोक नेम्बाङ चार वर्ष पछि यसै फिल्म मार्फत निर्देशकको रुपमा पुनरागमन गर्दैछन्। उनले यसअघि ‘सानो संसार’ र ‘कोही मेरो’ फिल्म निर्देशन गरेका थिए, जो व्यापारिक हिसाबमा असफल साबित भएको थियो। ‘सानो संसार कोरियन फ्लेबरको फिल्म थियो भने कोही मेरो बलिउड फ्लेबरको,’निर्देशक आलोकले भने,‘अझै पनि’लाई चाहिँ विशुद्ध नेपाली स्वादको फिल्म बनाउनेछु। जसले नेपाली परिवेश र सामाजिक अवस्थाको वर्णन गर्नेछ।’

फिल्ममा सुदर्शन र पुजाका अलावा सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, विजय लामा र रामशरण पाठकको अभिनय रहनेछ। पाठककै कथा रहने फिल्ममा हरि लम्साल, राजनराज शिवाकोटी, सचिन सिंह र महेश खड्काको संगीत, डा.कृष्णहरि बराल, महेश खड्का, सन्दीप थापा र विजय शिवाकोटीको गीत, दीपक लिम्बु, हरि लम्साल, सहिमा श्रेष्ठ, मनिषा पोखरेल, रिता बुढाथोकी, दिनेश गौतम र राजु तामाङको स्वर, आलोककै कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहनेछ। फिल्मको सुटिङ शुक्रबारबाट शुरु हुनेछ।

कार्यक्रमको सबै तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉