चेतन भन्छन् ‘शीर्षकलाई टर्चर भयो’


shirshak-sapkota
ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली फिल्मका सदाबहार नायक भुवन केसीले निर्माण गरेको फिल्म ‘साथी म तिम्रो’ मा शीर्ष भूमिकामा अभिनय गरेका बाल कलाकार शीर्षक सापकोटा उक्त फिल्म पछि अहिले गुमनाम छन्। राम्रो व्यानरको फिल्ममा दमदार अभिनय गरेर सबैको प्रशंसा पाएका यी बाल कलाकारले त्यसपछिका केही राम्रा फिल्मबाट अभिनयको प्रस्ताव आएपनि त्यसलाई अस्वीकार गर्दै आएका छन्।

अभिनय क्षमता हुँदाहुँदै पनि उनी किन गुमनाम बने भन्ने आम जिज्ञासा सबैमाझ छँदैछ। तर उनका पिता संगीतकार चेतन सापकोटा फिल्मबाट छोराले तनाव व्यहोरेको कारण पुनः फिल्ममा नआएको गुनासो गर्छन्। ‘फिल्ममा काम गर्दा उसलाई टर्चर भयो, सुटिङ युनिटमा रहँदा प्राविधिकदेखि कलाकारसम्मको व्यवहारले उसमा नराम्रो असर परेको छ,’ हालैको भेटमा संगीतकार सापकोटाले भने,‘फिल्मकर्मीको व्यवहारकै कारण उसलाई अन्य फिल्ममा काम गर्न गार्हो भयो।’

राजधानीको राई स्कुलमा कक्षा ४ मा अध्ययन गरिरहेका १० वर्षे शीर्षकले विद्यालयको पढाई पुरा गरेपछि मात्र फिल्म क्षेत्रमा पुनरागमन गर्ने चेतनले बताए। ‘पढाई पुरा गरेपछि उसलाई काम गर्न पनि सजिलो हुन्छ,’उनले भने,‘म पनि फिल्म क्षेत्रमै भएकाले छोरालाई अन्य क्षेत्रमा काम गराउन चाहन्न।’ उनका अनुसार शीर्षकलाई ‘रिदम’, ‘नाई नभन्नु ल २’लगायतका फिल्ममा काम गर्ने प्रस्ताव आएको थियो।

SUBSCRIBE 👉