प्राविधिक संघलाई १५ हजार सहयोग


manoj-kcग्ल्यामर नेपाल, काठमाडौं। नेपाली फिल्ममा काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघलाई काठमाडौंमा रहेको बलिउड फिल्म युनिटले १५ हजार सहयोग गरेको छ। हाल काठमाडौंमा छायांकन भईरहेको बलिउड नायक अक्षय कुमार अभिनित फिल्म युनिटले संघका अध्यक्ष मनोज केसीलाई उक्त रकम प्रदान गरेका हुन्।

निरज पाण्डेले निर्देशन गरिरहेको उक्त फिल्मको नाम नखुलाइएको भएपनि सुटिङमा प्रयोग गरिएको क्ल्यापमा ‘बेबी’ लेखिएकोले फिल्मको नाम पनि त्यही हुनसक्ने अनुमान लगाएको केसीले बताए। ‘विदेशबाट नेपाल सुटिङ गर्न आउने फिल्म युनिटहरुले संघलाई केही आर्थिक सहयोग गर्ने चलन पहिल्यैदेखि थियो, हामीले यो कुरा उनीहरुसँग प्रस्ताव राखेपछि उनीहरु पैसा दिन सहमत भएका हुन्,’केसीले भने,‘फिल्मका निर्देशक र छाँयाकारसँग कुरा हुँदा उनीहरुले नेपालमा फिल्म सुटिङ गर्ने ठाउँ राम्रो भएको बताए। निर्देशकले फेरी नेपाल आउँछु भनेका छन् ।’ उनका अनुसार फिल्ममा नेपालका केही निर्देशकहरुले पनि काम गरिरहेका छन्।

फिल्म राजधानीको बौद्धस्थित हायात होटलमा इन्डोर सुटिङ भइरहेको छ। बलिउडका सय जना र नेपालका तीस जनाले फिल्मको काम गरिरहेका छन्। संघले नायक अक्षयलाई ढाका टोपी लगाएर सम्मान गर्ने तयारी गरिरहेको केसीले बताए। फिल्मको छायांकन सोमबार ठमेल र मंगलबार भक्तपुरमा गरिने निर्माण पक्षले जनाएको छ।

SUBSCRIBE 👉