पाँच महिनाभित्र काठमाडौंमा बक्सअफिस सर्भर


‘निर्माता संघको अध्यक्ष भइसकेको व्यक्ति विकास बोर्डको नेतृत्वमा पुग्दा पनि बक्सअफिस किन लागु हुन सकेन ? ’

Box Office

सोमबार चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘स्पिकर्स कर्नर’मा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइलाई यस्तो प्रश्न तेर्सियो। उनले आफु यसका लागि डटेर लागेको भन्दै पाँच महिनाभित्र काठमाडौंमा बक्सअफिस सर्भर सुरु हुने दाबी गरे । बक्सअफिस स्थापनाको काम तीन चरणमा गरेर सम्पन्न गर्ने उनले बताए।

‘पहिलो चरणमा काठमाडौं भित्रका सिनेमा हलहरुका लागि सर्भर सेट गर्नेछौं, दोस्रो चरणमा देशभरका मुख्य शहरहरुमा र तेस्रो चरणमा दुर्गम क्षेत्रका हलहरुमा बक्स अफिसको सर्भर सेट हुनेछ,’ राईंले भने, ‘ प्रविधिको बिकाससँगै नेपाली फिल्म निर्माताहरुका लागि पनि बक्सअफिस आवश्यक छ। निर्माताहरुले वितरकमाथी सङ्का गर्ने वातावरण हटाउन पनि बक्सअफिसले सहयोग गर्न सक्छ।’

स्पिकर्स कर्नरको पहिलो संस्करणमा नेपाली फिल्म इन्डस्ट्रीमा बक्सअफिसको आवश्यकता, बक्सअफिसको फाइदा र बक्सअफिस स्थापनाको चुनौतीहरु बारे छलफल भयो । विषयमाथी बोल्न चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदय र चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले र निर्देशक एवं निर्माता दीपेन्द्र के खनाल वक्ता रहेका थिए।

‘बक्सअफिस तत्कालको आवश्यकता होइन। दर्शकको फ्लो फिल्मको कमाइ हो र त्यही कमाइ बक्सअफिस रेकर्ड हा ’, बक्सअफिस स्थापना निकै हतारको विषय नभएको बताउँदै निर्माता माधव वाग्लेले भने,’राम्रो फिल्म बनाउन सके उठेको पैसाले चित्त बुझ्छ नसके बुझ्दैन।’ फिल्म इन्डस्ट्री बिकास नभएसम्म बक्सअफिस निर्माताहरुको चित्त बुझाउने बाटो मात्र बन्ने उनको धारणा छ।

फिल्म निर्माता एवं निर्देशक दीपेन्द्र के खनालले पनि बक्सअफिसले नेपाली फिल्मको व्यवसायमा धेरै ठूलो सकारात्मक परिवर्तन नगर्ने बुझेका छन्। ‘मुख्यतः पारदर्शिताको कुरा हो । बक्सअफिस भएपनि नभएपनि को कति इमानदार रहन्छ भन्ने कुरा हो’, निर्देशक दीपेन्द्र के खनालले बक्सअफिस बारे आफ्नो धारणा राख्दै भने,’बक्सअफिस समयको माग हो जसले फिल्मको व्यापार हिसाब गर्न सजिलो र सिस्टमेटिक बनाउँछ।’

बक्सअफिसको आवश्यकता बारे छलफल हुन थालेको पाँच वर्षमा पनि आवश्यक काम नभएको भन्दै नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले भने,’बक्सअफिस भएको राम्रो हो। पारदर्शिता कायम गर्न सहयोग पुग्छ तर यो नै सबै परिवर्तनको आधार भने होइन।’ उनले हल व्यवसायिहरुलाई निर्माताले लगाउदै आएको आरोप बारे उनले असहमती व्यक्त गरे। ’हल व्यवसायीले पैसा लुकायो भन्नु आरोप मात्र हो। कसैले लुकाउछ नै भने उसलाई बक्स अफिसले पनि रोक्दैन’, उदयले बताए । बहसको सहजिकरण चलचित्र पत्रकार संघका महासचिव अनिल यादवले गरेका थिएँ। बहस काठमाडौंस्थित नेपाल चलचित्र संघको हल विशालनगरमा भएको थियो । कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्नका लागि स्पिकर्स कर्नर कार्यक्रम सुरु भएको हो।

SUBSCRIBE 👉