हँसिया छोडेर नायिका बेपत्ता, तनावमा निर्देशक


ग्ल्यामर नेपाल, काठमाडौं। फिल्ममा अनुबन्ध गरेपछि जोकोही निर्देशकको चाहना कलाकारले फिल्म रिलिज भइञ्जेलसम्म त्यसको प्रवद्र्धनमा सक्रिय सहभागिता जनाऊन् भन्ने हुन्छ। आगामी जेठ ९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘हँसिया’का निर्देशक मिलन चाम्सको पनि फिल्म बनाउँदा त्यस्तै चाहना थियो। सुटिङदेखि पोष्ट प्रोडक्सनसम्मको काममा सक्रियताका साथ सहभागिता जनाईरहेकी फिल्मकी प्रमुख कलाकार हेमा श्रेष्ठ प्रमोसनको समयमा एक्कासी हराएपछि निर्देशक चाम्स यतिबेला निकै तनावमा छन्।

hema-shrestha-hot

Model and Actress Hema Shrestha

केही समय अघि फिल्मका अर्का कलाकार महानायक राजेश हमालसहितको टोली यूके लगेर त्यहाँ रेडकार्पेट प्रिमियर गरी स्वदेश फर्किएका चाम्स मंगलबार हेमाकै कारण अलिक तनावमा देखिन्थे। ‘मैले हेमालाई बहिनी सम्झेर फिल्ममा सक्रियताका साथ काम गराएँ, अहिले आएर फिल्म तयार भएपछि उनी एकाएक वेपत्ता भएकी छन्,’ यूके प्रिमियरका बारेमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चाम्स भन्दैथिए,‘मलाई अहिलेसम्म बहिनीहरुबाट केही कुराको फलिफाप भएन, बरु दिदीहरुबाट मलाई ठूलो सहयोग मिल्ने गरेको छ।’ चाम्सले यसो भनिरहँदा नजिकै रहेका नायक हमालले चाम्सलाई अबदेखि ‘गर्लफ्रेण्ड’ बनाउन सुझाव दिए। चाम्सका अनुसार हेमा हाल आबुधाबीको एयर इतिहादमा एयर होस्टेजको तालिम लिईरहेकी छन्।

milan-chams-hasiya

Director Milan Chams

‘उनलाई मैले फिल्म बनाउनु अघि ८ महिनासम्म एक्सनदेखि हरेक किसिमका तालिमको व्यवस्था गरें, उनले फिल्ममा राम्रो काम पनि गरेकी छिन्, त्यसलाई म स्वीकार्छु,’चाम्सले भने,‘तर प्रदर्शन नजिकिँदै जाँदा फिल्मलाई वेवास्ता गरेर एयर होस्टेजको तालिम लिन बाहिर गईन, यो बेला मलाई दुःख लागेको छ।’ उनले यूकेका ६ स्थानमा फिल्म प्रदर्शन गरेर १४ लाख आम्दानी गरेपनि त्यो सबै व्यवस्थापनमा खर्च भएको जानकारी दिए। लण्डनको लण्डन फिल्मस् एकेडेमीमा फिल्म मेकिङ सम्बन्धी अध्ययन गर्दा आफुले पनि नेपाली फिल्म बनाएर रेडकार्पेट प्रिमियर गर्ने त्यो बेला बुनेको सपना अहिले आएर पुरा गरेको चाम्सले बताए।

प्रिमियरमा सहभागी नायक हमालले फिल्ममेकरहरु गम्भीर भएर फिल्म निर्माण तथा प्रदर्शनमा लाग्दा सफल हुने उदाहरण आफुले ‘हँसिया’बाट पाएको दाबी गरे । उनले फिल्म विशुद्ध एक्सन थ्रिलर रहेको जनाउँदै यूकेका प्रहरी अधिकृतले फिल्मको एक्सन अन्तर्राष्ट्रिय किसिमको रहेको भन्दै प्रशंसा गरेको बताए । फिल्मी अभिनयमा २५ औं वर्षमा प्रवेश गरेका हमालले बेलायतको तेस्रो अग्लो पहाड स्नोडन चढ्दाको अनुभव सुनाउँदै आफुलाई डाँडापाखा हिड्न असाध्यै मनलाग्ने बताए।

चाम्स इन्टरटेनमेन्टको व्यानरमा दुर्गा घलेले निर्माण गरेको फिल्ममा हेमा र हमालका अलावा अनुपविक्रम शाही, विशाल ढुंगाना, विजय कुँवर, करण राई, प्रशंसा शाह, रुवी राणा शाह र प्रियंका कार्कीको अभिनय रहेको छ। रिनाशा वान्तवा राईको नृत्य, कल्याण सिंहको संगीत, राजेशपायल राई र सुवानी मोक्तानको स्वर, निलम आङबुहाङ राईको शब्द, राजकुमार उप्रेतीको द्वन्द्व र रामकुमार केसीको छायांकन फिल्ममा रहेको छ। फिल्मलाई उपत्यकामा दर्शना आर्टस् र मोफसलमा एफडी कम्पनी तथा दर्शनाले संयुक्त रुपमा वितरण गर्दैछ।

SUBSCRIBE 👉