सेन्सर बोर्ड र विकास बोर्डमा निर्देशक, निर्माता र नायिका


Bikash-Board
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्ममाथि अनावश्यक कैची चलाएको आरोपमा विवाद खेपिरहेको सेन्सर बोर्डमा तीन नयाँ सदस्य थपिएका छन्। सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले मन्त्री स्तरीय निर्णायकबाट सेन्सर बोर्डमा चलचित्र निर्माता संघका प्रवक्ता, फिल्म वितरण कम्पनी दर्शना आर्टस्का सिईओ तथा निर्देशक सुरेश दर्पण पोखरेल, नायिका मेलिना मानन्धर र विमल संग्रौलालाई सेन्सर बोर्डमा नियुक्त गरेका हुन्। नवनियु्क्त तीनै सदस्य नेपाली कांग्रेसनिकट मानिन्छन्। उनीहरुले आज नियुक्तीपत्र बुझेका हुन्। सेन्सर बोर्डमा फिल्मकर्मी भएनन् भन्ने गुनासोलाई मन्त्री रिजालले चिरेका छन् तर पोखरेल र मानन्धरले बोर्डलाई चलचित्रमैत्री बनाउन कतिको सफल हुन्छन् ? हेर्न बाँकी छ।

सेन्सर बोर्डसँगै चलचित्र विकास बोर्डमा पनि सदस्य थपिएको छ। मन्त्री रिजालले चलचित्र विकास वोर्डमा रिक्त तीनमध्ये दुई सदस्यमा अभिनेत्री रुपा राणा र फिल्म निर्माता राजेन्द्र केसीलाई नियुक्त गरेका हुन्। एक सदस्य पद भने अझ रिक्त नै छ। त्यस्तै, तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवले बोर्ड अध्यक्ष बनाएका धर्मेन्द्र मोरवैतालाई हटाउने तयारी भइरहेको बुझिएको छ। उनको ठाउँमा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई ल्याउने लविङ भइरहेको छ। राई कांग्रेसको साँस्कृतिक विभागमा आबद्ध छन्।

SUBSCRIBE 👉