हृदयाघातका कारण दुई हप्ताअघि निधन भएकी निर्देशक निलु डोल्मा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। डोल्माको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो। कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए।
कलेज प्रशासन र डोल्माकी आमाबीच भएको सम्झौता अनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन्। छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ।
निलुको नाममा प्रदान गरिने छात्रवृत्तिसँगै ओस्कार फिल्म कलेजमा छात्रवृत्तिको संख्या २२ पुगेको कार्यकारी अधिकृत विनोद पौडेलले जानकारी गराए। ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई सिंगापुरको इनफिनिटी स्टुडियोले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ भने कलेज स्वयंले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ। छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ।
थाईल्यान्डको लुघ फिल्म प्रतियोगितामा ओस्कारका ६ विद्यार्थी छनोट
यसैबीच ओस्कार कलेजका ६ जना विद्यार्थी थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि छनोट भएका छन्। यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन्।
१० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेति, सजल लोप्चन, दिवस अम्गाइँ र जेसन लोप्चन छानिएका छन्। ६ जना जोडीको रुपमा तीन समूहमा विभाजित भइ प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाई भाट जित्नेछ भने थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन्। ओस्कार फिल्म कलेज नेपालको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र फिल्म कलेज हो।