बिवाह विरोधी नायक हमालको हुने भो बिवाह


Rajesh-Hamal
ग्ल्यामर नेपाल, काठमाडौं। समय समयमा विवाहलाई ‘ढोंगी नाता’को संज्ञा दिँदै आएका अविवाहित महानायक राजेश हमालले अन्ततः आफ्नो लामो प्रेम सम्बन्धलाई वैवाहिक संस्कारमा परिणत गर्ने भएका छन्। मोरङ विराटनगर घर भई हाल धरान बस्दै आएकी मधु भट्टराईसँगको प्रेम सम्बन्धलाई हमालले जेठको दोस्रो साता विवाहमा रुपान्तरण गर्न लागेका हुन्।

विभिन्न कार्यक्रममा भेट हुने गरेका हमालले मिडिया सामू विहेको कुरा गर्दा जहिल्यै पनि मिति सार्ने गरेका थिए। केही वर्ष अघि राजधानीको एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा मधुलाई भेटेपछि उनीसँग प्रेममा परेका हमाल आफैले मधुसँगको सम्बन्धको बारेमा स्वीकार गरेका थिए। दुई सयजति फिल्ममा पुरानादेखि भर्खरका नायिकासँग अनस्क्रिन रोमान्स गरेका हमाल मधुसँग रियल रोमान्समा डुबेपछि उनी चर्चामा आईरहेका थिए।

दुवैजनाको उमेर अन्तरको दुरी लामो भए पनि आजकल हमालले हरेक काम गर्नु अघि मधुसँग सल्लाह लिने गरेका छन्। कान्तिपुर पब्लिकेशनको साप्ताहिक पत्रिका ‘साप्ताहिक’को शुक्रबार अंकमा हमालको भनाई उदृत गर्दै आगामी बुधबार अर्थात वैशाख ३१ गते क्यान्डल लाइट डिनरमा उनले आफ्नै शैलीमा मधुसँग वैवाहिक सहयात्राका निम्ति औपचारिक प्रस्ताव राख्नेछन् र मधुले उनको प्रस्ताव स्वीकार गर्दै सहयात्राका निम्ति ग्रिन सिग्लन दिने समाचार लेखिएको छ। पत्रकार विदुर खतिवडाले लेखेको उक्त समाचार अनुसार डिनरमा हमालले विवाह प्रस्तावसँगै आफ्नी प्रेमिकालाई आमाको चिनो प्रदान गर्ने बताइन्छ भने त्यही विवाहको सम्पूर्ण कार्यक्रम पनि तय हुनेछ।

समाचार अनुसार विवाहका लागि हमालका दिदी–बहिनीका साथै अन्य आफन्तहरु अमेरिकाबाट नेपाल आउने क्रम सुरु भैसकेको छ। बुबा–आमा दुवैको निधन भैसकेकाले हमालले विवाहमा आफ्ना दिदीबहिनीलाई अभिभावक मानेर मधुलाई धर्मपत्नी बनाउँदैछन्।

SUBSCRIBE 👉