बेलायतमा ‘ब्लाइन्ड रक्स’ प्रिमियर । सयौं दर्शकहरुको आँखा रसाए


मिलन चाम्स निर्देशित बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ बेलायत, अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट ग्रयाण्ड प्रिमियर गरिएको छ। दृष्टिविहीनहरुको हक अधिकार सुनिश्चित गर्न क्रियाशिल संस्था ब्लाइन्ड रक्सकी संस्थापक सृष्टिकै वास्तविक जीवनमा यो चलचित्र बनेको हो। चलचित्रले दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ। चाम्स इन्टरटेनमेन्ट र एन फिल्मस एण्ड क्रियसनको ब्यानरमा बनेको यो चलचित्र प्रेरणादायी रहेको दर्शकहरुको प्रतिक्रिया रह्यो।

प्रिमियर शोमा आमासंगै सृष्टि पनि पुगेकी थिइन्। सयौं दर्शकहरुका माझ चलचित्रको प्रिमिएर भईरहँदा धेरैको आँखा रसाए। चलचित्र निर्माण टिमबीच सृष्टि भनिन्, ‘आजबाट सृष्टिले दृष्टि पाउनेछिन्, उनको सपनामा हजारौं आँखा थपिएका छन्।’ ताली गडगडाहट नरोकिंदै सृष्टि थप्दै थिइन्, ‘यस फिल्मले मेरो वास्तविक जीवन चित्रण गरेको छ। मलाई आशा छ यसले दृष्टिविहीन र अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन ल्याउने छ।’

सञ्चारकर्मी नरेश भट्टराईले होस्ट गरेको प्रिमिएर कार्यक्रममा निर्देशक मिलन चाम्स र निर्माता निकेश लिम्बुले ‘बायोपिक’ फिल्म व्यवसायिक र चर्चाको हिसावले जोखिमयुक्त भएपनि आफूहरुले समाज परिवर्तनको उद्देश्य राखेर जोखिम ग्रहण गरेको बताए।

दृष्टिविहीन समाजका वाधक वा घृणाका पात्र होइनन्, अवसर र हौसला पाए उनीहरु जहाँ पनि सक्षम छन्, उनीहरुलाई माया, हौशला र सम्मान गरौं भन्ने सन्देश चलचित्रले दिन्छ।

चलचित्रमा नायिका बेनिसा हमाल सृष्टिको भूमिकामा देखिएकी छिन। गौरी मल्ल, बैंकर अनिल शाह, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारको पनि जिवन्त अभिनय यो चलचित्रमा हेर्न सकिन्छ।

समाजमा एउटा उदाहरण – सृष्टि केसी
वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी। दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत। टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे। चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले।

अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नबदलिने कुरै भएन। अपहेलना, हेय, असहयोग आदि इत्यादि। तर, हरेस खाइनन्। बरु, यसलाई एउटा शक्तिका रुपमा बदलेर वाधा, व्यवधान पन्छाउँदै अगाडि बढिन् उनी। आफू जस्ता धेरैको प्रेरणाश्रोत र सहयोगी बनिन्। राष्ट्रिय अन्तर्राष्ट्रिय प्लेटफर्ममा उनी नै छाइन्। दुवै आंखा देख्ने आम मानिस भन्दा झन् बढि सक्षम भएर समाजमा एउटा उदाहरण बनिरहेकी छिन – सृष्टि केसी। – (कान्तिपुरको सहयोगमा)

SUBSCRIBE 👉