क्यासिनो जागिरेको बाँसुरी प्रेम


hurmat-bhandari
ग्ल्यामर नेपाल, काठमाडौं । पेशाले उनी क्यासिनोका मार्केटिङ अफिसर हुन्, तर संगीत भनेपछि हुरुक्क हुन्छन्। बाँसुरी बजाउन रुचाउने उनले बाँसुरी बजाउँदा उनका छिमेकी सबै मख्ख पर्छन्। उनी हरेक दिन बिहान र भ्याए सम्म साँझ पनि बाँसुरीको प्वालहरुमा एक डेढ अण्टा औँला खेलाउने गर्छन। पुराना नेपाली गीतहरु ‘बाँझो खेतमा छड्के सलाम छ मायाँलाई पहिलो भेटमा…’, ‘सिमसिमे पानीमा ज्यानले बेमान गर्छकी…’, ‘सुर्खेतमा बुलबुले ताल…’ र ‘खोटाङ जिल्ला दिक्तेल बजार…’ लगायतका कर्णप्रिय गीतलाई उनको बाँसुरीले टपक्कै टिप्छ।

दाङको तुलसीपुरमा जन्मिएका ३५ वर्षे हुर्मत भण्डारी आफ्नो पेशाप्रति बफादार त छँदैछन्, त्यो बफादारीतालाई साथमा राख्दै संगीतका लागि पनि दत्तचित्त छन्। बाँसुरी बजाएरै परिवार पाल्न गार्हो भयपछि उनले बाँसुरीलाई विकल्पमा राखेर क्यासिनोको जागिर शुरु गरेका हुन्। बाँसुरी प्रति उनको क्रेज सानैदेखिको हो। ‘गाउँकै विद्यालयमा ५,६ कक्षामा पढ्दै गर्दा मलाई नजानिदो पाराले बाँसुरीको धुन मन मष्तिस्कमा पस्न थाल्यो, रेडियो टिभिमा बज्ने गरेका गीतमा सुनिने बाँसुरीका धुन अनि श्रीकृष्ण भगवानले हातमा बाँसुरी लिएर बसेको फोटाहरु कोठाको भित्तामा देख्थें, अनि बाँसुरी बजाएर सबैलाई सुनाउँदै हिँड्न सके कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो,’उनी फ्ल्यासब्याकमा फर्किए,‘ त्यसपछि त आफैंले निगालो काटेर बासुरी बनाएँ। भर्खरै बास्न सिकेको भाले जस्तै गरी बाँसुरी फुक्दै कहिले सडक त कहिले गोठाले अनि विद्यालय जाने गर्थें।’

हुर्मतले बिद्यालयमा अध्ययन गर्दै गर्दा दाङमा भएको जिल्लाव्यापी गीत संगीत प्रतियोगिताको संगीत विधामा बाँसुरीकै धुनबापत दुई पटकसम्म जिल्ला प्रथम भए। दाङबाट राजधानी आएका उनले यहाँको सांगीतिक वातावरण देखेपछि बाँसुरी बादनलाई निरन्तरता दिन सकेनन् र संगीत भन्दा भिन्न पेशालाई अँगाल्न पुगे। कलाकारितालाई आफ्नो शौखको बिषय बनाएका हुर्मत यतिबेला आधुनिक गितमा मोडलिङ गर्न लागेका छन्। उनले तीनबर्ष पहिले यम बरालको गीति क्यासेट ‘हिरा’ को ‘मलाई नसोध मेरो ठेगाना…’ बोलको गितमा मोडलिङ गरेको थिएँ। त्यसपछि उनले तीजका गीतलगायत ७, ८ वटा आधुनिक गितामा मोडलिङ गरिसकेका छन्। संगीत र अभिनयलाई कहिल्यै नछोड्ने उनले क्यासिनोको मार्केटिङ गर्न थालेको करिब १४ बर्ष भइसकेको छ।

SUBSCRIBE 👉