लामो समयपछि नेपाली फिल्म हेर्न दर्शकको ओइरो


keki-and-nita-1
काठमाडौं, तीन सातादेखि सुस्ताएको नेपाली सिने बजार फेरि एकपटक जुर्मराएको छ। गत शुक्रबारबाट एक साथ रिलिज भएका तीन चलचित्रले उत्साहजनक ओपेनिङ गरेपछि सबैतिर खुशी छाएको हो। ‘बितेका पल’, ‘छ एकान छ’ र ‘पराई’ तीन चलचित्रको व्यापार सन्तोषजनक रहेको सम्बन्धित निर्माताहरुले जानकारी दिएका छन। एकसाथ तीन चलचित्र रिलिज हुँदा व्यापार डामाडोल हुन्छ भन्ने अनुमान पनि गलत सावित भएको छ । अमिर खानको ‘धुम ३’ जस्तै नेपाली फिल्म हेर्न पनि दर्शक हलमा ओइरिएका छन।

सुरज सुब्बा नाल्बो निर्देशित ‘बितेका पल’को व्यापार शुक्रबार केही निराशाजनक थियो। पहिलो दिन फिल्मले ३०–४० प्रतिशतमात्र अकुपेन्सी लिएको थियो तर शनिबारको पहिलो शोबाटै ७० प्रतिशत अकुपेन्सी ग्रहण गरेको निर्माता राजेश घतानीले जानकारी दिएका छन। उनले काठमाडौं उपत्यकासँगै मोफसलका हलहरुमा पनि आफ्नो फिल्मले उत्कृष्ट व्यापार गरिरहेको बताए। यो चलचित्र देशका करिब ३५ पर्दामा प्रदर्शन भइरहेको छ । सत्यप्रेम कथामा आधारित भनिएको चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, अविनाश गुरुङ लगाएतका कलाकारको अभिनय रहेको छ । केकीले यो चलचित्रबाट पनि दर्शकको ताली पाएकी छिन।
nepali-movies-posterउता, टेलिभिजनमा अत्याधिक रुचाइएका आधा दर्जन हास्यकलाकारको अभिनय रहेको चलचित्र ‘छ एकान छ’ले आक्रामक ओपेनिङ गरेको छ। दिनेश डिसी निर्देशित चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, सिताराम कट्टेल, सन्दीप क्षेत्री, नीता ढुंगानालगाएतका कलाकारको अभिनय रहेको छ। हास्यप्रधान चलचित्र भएको स–परिवार हलसम्म पुगेको निमार्ण पक्षले जानकारी दिएको छ। शुक्रबारदेखि नै फिल्म हाउसफुल रहेको निर्देशक डिसीको भनाई छ। देशका ७० पर्दाहरुमा रिलिज भइरहेको यो चलचित्रले दुई दिनमा ५० लाख ग्रस गरेको छ। निर्माता सुरक्षित हुन फिल्मले करिब डेढ करोड व्यापार गर्नुपर्छ। ओपेनिङबाट अबको तीन दिनमा पनि लगानी रिकभर हुने अनुमान लगाउन सकिन्छ

स्वर्गिय निर्देशक शिव रेग्मीको निर्देशन रहेको ‘पराई’ले पनि सोचेभन्दा राम्रो व्यापार गरेको छ। पारिवारिक प्रेमकथामा आधारित यस चलचित्रलाई मोफसलका दर्शकले अत्याधिक मन पराएको छ। यो चलचित्र करिब ४० पर्दाहरुमा रिलिज भइरहेको छ। चलचित्रमा झरना थापा, नन्दिता केसी, निरज बराल, गोविन्द शाहीलगाएतका कलाकारको अभिनय रहेको छ।

शुक्रबारबाटै प्रदर्शन भएको अर्को चलचित्र ‘योद्धा’को पनि चर्चा कतै सुनिएको छैन। प्रमोशन नगरिएका कारण पनि चलचित्रको व्यापार अत्यन्त कम भएको बताइएको छ।

SUBSCRIBE 👉