सुटिङ स्पटमै यसरि निदाउँछन् कलाकारहरु


बलिउडमा कलाकारहरु १५ घन्टासम्म लगातार काम गर्नै गर्दछन्। अलि चल्तीका कलाकारको त सुटिङको वेलामा खाने, आराम गर्ने तथा सुत्ने समय नै गडबड हुन्छ। कामको वेलामा डटेर काम गर्ने गरेका केही सेलेब्रिटीले आफू थाकेको, सुटिङ सेट या कारमा निदाएको, आराम गरेको फोटो सामाजिक सञ्जालमा प्राय भाईरल हुने गरेका छन्।

अभिनेता रणवीर कपुर अभिनीत पछिल्लो प्रदर्शित फिल्म जग्गा जासुसले बक्स अफिसमा कमाल देखाउन सकेन। अचेल उनी सञ्जय दत्तको बायोपिक फिल्म दत्तमा व्यस्त छन्। उनी त्यो फिल्मको काममा यति खटिएका छन् कि उनी हालै मुम्बईको बान्द्रा इलाकामा कारमा निदाइरहेको अवस्थामा भेटीए। कसैले उनको फोटो खिचेर सार्वजनिक गरेपछि उनले आफू थाकेको हुनाले कारमा नै निदाएको बताएका थिए।

रणवीरझैँ बलिउडका अन्य कलाकारका पनि थाकेर चुर भएको अवस्थाका फोटो बाहिरिने गरेका छन्। कोही सुटिङ सेटमै निदाइरहेका देखिन्छन् त कोहीले लोकेसनमा पुग्दा फ्लाईट वा कारमा नै सुत्ने गर्छन। बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर, कैटरिना कैफ, आलिया भट्ट, प्रियंका चोपडाहरूले सुटिङ स्पटमै निद्रा पुर्‍याएको फोटो बाहिर आइसकेका छन्।

केही समय अघि इन्टरटेनमेन्ट नामक फिल्मको सेटमै अक्षयकुमार कुकुरसँग सुतेको फोटो पनि भाइरल भएको थियो। शाहरुख खान, सैफअली खान, अर्जुन रामपाल, अभिषेक बच्चन, बोमन इरानीलगायतका चर्चित कलाकारले विभिन्न स्थानमा आराम गरेका फोटो पनि सार्वजनिक भइसकेका छन्।

सुटिङ नपर्दा भने बलिउड स्टारको दैनिकी सेड्युलमै चल्ने गर्दछ। अधिकांश सेलेब्रिटी जिम, डान्स क्लास जाने गर्दछन्। केहीले भने योगा र ध्यान गर्ने गर्दछन्। सुटिङ नपरेको वेलामा पनि डबिङ तथा फिल्मको प्रमोसनमा हिँड्नुपर्ने हुन्छ। प्रमोसनको वेलामा पनि कलाकारको निजी रुटिन लथालिंग हुने गर्दछ। फिल्म बाहेकका कार्यक्रम तथा स्टेज सो भने पूर्वनिर्धारित हुने भएकाले दैनिकीमा असर नपर्ने भारतीय मिडियाले उल्लेख गरेका छन्।

विशेषगरी, आफैँ फिल्म निर्माणमा संलग्न सेलेब्रिटी जस्तो– सलमान खान, शाहरुख खान, आमीर खान, अजय देवगण, अक्षयकुमारलगायतले आफ्नो फिल्म सुटिङको समयमा दैनिक दुई घन्टा पनि आराम गर्न नपाउने गरेको मिडियामा खबर आउने गरेका छन्। ‘सुटिङको तनाव यस्तो हुन्छ कि घरपरिवार, आफन्त, आफ्नो दैनिकी सबै भुलिन्छ,’ अभिनेता तथा निर्माता अजय देवगणको भनाइ छ, ‘पत्नी काजोलले सुटिङको सेड्युल बुझ्छिन्, तर छोरी भने बाबाले आफूहरूलाई समय दिएन भनेर साह्रै रिसाउने गर्छिन्।’ अजयले शिवाय फिल्म निर्माणका क्रममा झन्डै दुई महिना आफ्नो परिवारबाट टाढा बस्नुपर्दाको पीडा पोखेका थिए।

SUBSCRIBE 👉