लिलीबिली रोमान्स : स्कटल्यान्डको कठयांग्रिने ठण्डीमा प्रदिप र जसिता


‘ओ केटाकेटी हो, हिम्मत गर हिम्मत। कम अन गाइज, यति जाडो त सहनुपर्‍यो नि ?’ निर्देशक मिलन चाम्स अलिक चर्किएर बोलिरहेका थिए। कोरियोग्राफर कविराज गहतराज पनि सान्त्वना दिँदै कलाकारलाई सिकाउन अघि बढे। कठयांग्रिने चिसोका कारण ‘टेक’ चाहिँ बढेको बढयै थियो, कलाकार लुगलुग काम्दै ‘ओके’ पर्खिरहेका थिए। ‘लिलीबिली’ को सुटिङ स्पट। लोकेसन स्कटल्यान्डको एडिनबरा टाउन सेन्टर। टाइटल गीतको सुटिङ सेटमा यस्तै हालतमा थिए अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङ।

केटाले केटीलाई फकाउने गीतको दृश्य हुँदै गर्दा वेदर फोरकास्टले तापक्रम माइनस देखाइरहेको थियो। तातो पानी र कफीको सहाराले पनि जाडो थामिने स्थिति थियन। पाँच वटा ज्याकेट लगाउँदा पनि नथामिने जाडोमा प्रदीप र जसिता एकसरो लुगा लगाएर क्यामेरा सट दिदै थिए।

करिब ९० प्रतिशत सुटिङ बेलायतमा गर्ने योजनाअनुरूप दोस्रो सातासम्म ३० प्रतिशत सुटिङ सकिइसकेको निर्देशक मिलनले बताए। ‘पोखरा, जोमसोम पुगेर सुटिङ गर्न त गार्‍हो छ’, उनले विदेशमा फिल्म सुटिङको अप्ठेरो पाटो सुनाए, ‘लोकेसन, स्थानीय निकायसँग अनुमति, इन्सुरेन्स, प्राविधिक, सामग्रीजस्ता व्यवस्थापनमा धेरै झन्झटहरू आइपर्ने रहेछ।’ तर यो चुनौतीलाई भने आफूले अवसरका रूपमा लिएको मिलनले बताए।
– शब्द / तस्विर श्रोत : नविन पोखरेल / कान्तिपुर

SUBSCRIBE 👉