दर्शकको हुटिङमा आनन्दको गाए गीत (फोटो फिचर सहित)


singer-ananda-karki (6)
ग्ल्यामर नेपाल, काठमाडौं । मान्छे आफ्नो ज्यानमा कहिकतै तलमाथि नहोस् भन्ने चाहन्छन्, त्यसैले त आफुलाई सुरक्षित बनाएर हिड्ने, बस्ने गर्दछन्। तर गजल गायनमा आफुलाई नेपालकै नम्बर एकको पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्की भने सोमबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा ‘गए ज्याला ज्यान’ भन्दै दर्शकलाई नचाई रहेका थिए। उसै ती उनका हिट नम्बर गीतमा लठ्ठ परेका दर्शक उनको यो गीतमा ज्यानै जाने गरे जसरी नै नाचिरहेका थिए।

कार्यक्रमको थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रस्टको सहयोगार्थ गाउँले इन्टरटेनमेन्टले आयोजना गरेको ‘आनन्द कार्की एकल साँझ’मा रमाउन हलभरि उपस्थित दर्शकले पटक–पटक आनन्दलाई ‘वान्स मोर’को हुटिङ गरेपनि समयको बिलम्बले उनीहरुको त्यो चाहना पुरा हुन सकेन्। निर्धारित समय भन्दा करिब दुई घण्टा कार्यक्रम ढिलो भए पनि आनन्दको गीतमा आनन्दित बनेका दर्शकहरुले त्यो कुराईलाई सम्झिनै पाएनन्।

‘मेचीकाली’ बोलको राष्ट्रिय गीतबाट आफ्नो साँझलाई शुरु गरेका आनन्दले कम पीडा र बढी खुशीका गीत गाएर दर्शकलाई रोमाञ्चित बनाएका थिए। ‘भेटेर तिमीसँग’, ‘लाग्छ मन’, ‘सम्झी सम्झी’,‘जे जे हुन्छ यहाँ पर्दा पछाडि’, ‘गए जाला ज्यान’, ‘फेरि आउँछ आउँदै त्यस्तो रात’ जस्ता प्रेम र विछोडका गीत गाइरहँदा केही भावुक र केही रमाइलो अनुभव गरिरहेका दर्शकलाई ‘माया लाउदै जाउ प्यारा’, ‘विहानी पहिलो किरण सरी’, ‘जनम जनम जिउँला सँगै’, ‘म तिमी बिना मरि हाल्छु’, ‘बादल वर्षा बिजुली’, ‘भरे आउँछु सपनीमा’ र ‘बनमा फूल्यो फूल’ले मुहारमा खुशीको माहौल ल्याइदिएको थियो।

भारतको लखनउमा संगीत अध्ययन गरेका आनन्दले २०४२ मा ‘जीवनमा धेरै खोला तर्नु छ…’ मार्फत औपचारिकरुपमा गायन यात्रा सुरु गरेका थिए। चर्चित भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा विश्व प्रथम भएका उनी शुरुवाती समयमै ‘तिम्रो पनि मुटु नै भए, यति सार्है कठोर किन…’बाट हिट भए। सांगीतिक करियरमा एक हिन्दी र १३ नेपाली गरी १४ सोलो एल्बम, तीनटा भजन एल्बम निकालिसकेका उनले फिल्मी र फुटकर गरी एक हजारभन्दा बढी गीत गाइसकेका छन्।

कार्यक्रममा आनन्दको बारेमा तयार पारिएको करिब ८ मिनेट लामो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा थाइल्याण्डमा बस्दै आएका गैरआवासीय नेपाली युवा सुनिल खड्काले प्रतिष्ठानका लागि नौ हजार ९ सय १ रुपैंयाँ हस्तान्तरण गरेका थिए । अन्य दर्शकले पनि संस्थाका लागि आर्थिक सहयोग गरेका थिए।

मनोहर सुनाम, प्रमोद उपाध्याय, दीपक थापाजस्ता चर्चित वाद्यवादकको साथमा दर्शकमाझ उपस्थित भएका आनन्दलाई युगल गायनमा मिलन अमात्य, जुना प्रसाई, प्राश्ना शाक्य र शोभा काफ्लेले साथ दिएका थिए ।

SUBSCRIBE 👉