दशैं स्पेशल गीतको छायाँकन संगै ‘निर्जला’ को इन्डक्ल्याप


नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। भक्तपुरको घ्याम्पे डाडामा दशैंको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो। दुई दर्जन कोरस सहितको फिल्मको गीतलाई नृत्य निर्देशक कमल राईले कोरियोग्राफी गरेका छन्। दीनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन्। यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन्।

राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्मित फिल्मको रिलिज मिति समेत तय गरिएको छ। आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिन देखि फिल्म रिलिज गरिने निर्माण पक्षले जनाएको छ । शुभेच्छा कै कथा तथा संवाद रहेको फिल्म ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ।

यस अगाडि निर्देशक राजु र नायिका शुभेच्छाको ग्ल्यामरका नाममा समाजले पचाउनै नसक्ने दृश्य दिएको भन्दै आलोचना भएको थियो। यो फिल्म मार्फत आफूहरुलाई लागेको दाग मेटिनेमा यि दुई विश्वस्त छन्। यस पटक फिल्ममा त्यस्तो कुनै सिन समेत नभएको र परिवार एकसाथ बसेर हेर्न मिल्ने फिल्म बनाएको निर्देशक गिरीको भनाई छ।

व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै फिल्म मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन्। उनले फिल्म निर्माणलाई निरन्तरता दिने बताएका छन्। चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्धन्द तथा रवि कोइरालाको छायांकन छ।

SUBSCRIBE 👉