चार दिनमा ‘छ एकान छ’को कमाई कति ?


chha-ekan-chhaकाठमाडौं, गत शुक्रबारबाट रिलिज भएको कमेडी चलचित्र ‘छ एकान छ’ले चार दिनको कमाई सार्वजनिक गरेको छ। देशका करिब ७० पर्दामा रिलिज भएको यो चलचित्रले सोमबार सम्म ६५ लाख ग्रस गरेको छ। रिलिजको पहिलो दिन शुक्रबार सिनेमाको कमाइ १८ लाख रुपैयाँ थियो। शनिबारको व्यापार अझ उक्लियो। विदाको दिन शनिबार चलचित्रले ३० लाख कमाएको निर्माताले जनाएका छन्। तर यही गति आइतबार र सोमबार भने कायम हुन सकेन।

दिनेश डिसी निर्देशित यो सिनेमाले आइतबार र सोमबार १७ लाखको व्यापार गरेको छ। सोमबार मोफसलका हलबाट जम्मा २ लाख ८८ हजार कलेक्सन गरेको थियो। यद्यपी काठमाडौंको मल्टिप्लेक्समा भने फिल्मको व्यापार खासै नघटेको बताइएको छ।

वुधबार माघे संक्रान्ति परेकोले ‘छ एकान छ’को व्यापार उकासिने विश्वास गरिएको छ। बुधबारको कमाई शनिबार जतिको भइदियो भने एक हप्तामा यो फिल्मले करिब ८५ लाख ग्रस गर्ने अनुमान गर्न सकिन्छ। जसबाट निर्माताको हातमा ३२–३२ लाख पर्नेछ। तर यो रकम लगानीको रिकभरको लागि पर्याप्त हुने छैन। प्रमोशनसहित फिल्मको लगानी ५५ लाख रुपैया पुगेको बताइएको छ। त्यसैले लगानी रिकभरका लागि अर्को साता पनि यो सिनेमाले औसत व्यापार गर्नुपर्नेछ।

अत्याधिक मिडिया हाइप पाएको ‘छ एकान छ’को विदेशमा पनि निकै डिमान्ड भइरहेको छ । यदी नेपालबाट लगानी रिकभर भयो भने ओभरसिज कमाई खुद नाफा हुनेछ। यसरी यो फिल्म निर्मातालाई सुरक्षित गराउने यो वर्षको तेस्रो फिल्म हुने भएको छ। यस अगाडि दुर्गिस फिल्मस्को ‘होस्टेल’ र रेखा फिल्मस्को ‘काली’ लगानी रिकभर गर्न सफल भएका थिए।

‘छ एकान छ’को कमेडीलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, सिताराम कट्टेल, सन्दीप क्षेत्रीलगाएतका कलाकारको अभिनय रहेको छ । नीता ढुंगाना फिल्मकी एक्ली नायिका हुन्।

शुक्रबारबाटै रिलिज भएका अन्य दुई चलचित्र ‘बितेका पल’ र ‘पराई’को कमाई मध्यम छ । ‘बितेका पल’को प्रमोशनका लागि निर्माता राजेश घतानी र कलाकारद्वय बाबु बोगटी र केकी अधिकारी पूर्व पुगेका छन। पूर्वका हलहरुमा उनीहरुले दर्शकसँगै बसेर फिल्म हेर्ने कार्यक्रम छ।

SUBSCRIBE 👉