रोजीको गीतमा सम्पदा र अनिलको अन्जान केमिस्ट्री!


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम बिमोचन गरिएको छ। वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ’शिला’ को विशिष्ट आथित्यतामा एल्बम रोजाई, समन्वय र पुस्तक सोचाइको एकसाथ बिमोचन गरिएको हो। सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेको बिमोचन समारोहमा संगीतकार तारा प्रकाश लिम्बु र गायक बिक्रम राईको पनि उपस्थिति थियो। युकेमा बस्दै आएकी गीतकार रोजी, एल्बम तथा पुस्तक विमोचनकै लागि नेपाल आएकी हुन्।

राम कृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको एल्बम ‘रोजाई’मा ७ वटा गीतहरु: माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी बोलका गीतहरु सुन्न सकिन्छ। गीतहरुमा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु र महेश खड्काको संगीत छ। यसैगरी एल्माब ‘समन्वय’मा ८ गीत समावेश छन्। यसमा तिमीलाई माया , तिम्रो माया, अलिकति माया, कोहि जिउदै, जलन हुन्छ, सुन्दर फुल, जलन हुन्छ २ र देश प्रेमी लगायतका गीत समावेश छन्।

कार्यक्रममा ‘अन्जान थिए’ बोलको गीतको भिडियो पनि देखाईएको थियो। यो गीतमा शब्द रोजीको छ भने संगीत र स्वर विक्रम राईको छ। सम्पदा बानिया र अनिल थापाको अभिनय रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन, मिलन शंकरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन छ। – भिडियोहेर्नुहोस्

एल्बम र पुस्तकका बारेमा एसो भन्छन, अतिथि र गीतकार

डाक्टर कृष्णहरि बराल : उनको क्षमतालाई मैले गीत सुन्दा र पुस्तकका केहि पानालाई अध्यन गर्दा नै पहिचान गरिसकेको छु। उहाको पहिलो एल्बमलाई पनि मैले नै विमोचन गर्ने मौका पएको थिए र अहिले पनि सो अवसर जुरेको छ। उहालाई मैले साहित्यमा निरन्तरता दिन आग्रह गरेको थिए। विदेशमा बसेर पनि साहित्य र गीतसंगीतलाई उहाले गर्नु भएको मायालाई हामीले स्वागत गर्ने पर्छ। उहाको लेखाई रहर मात्र होइन यसमा क्षमता पनि छ। आश छ आगामी दिनमा उहाका सिर्जनाले उचित स्थान पाउनेछन्। म उहाको निरन्तरताको कामना गर्दछु।

उन्नती बोहरा ’शिला’ : उहाको गीतसंगीतमा सबै किसिमका भाव छन्। साथै उहाको लेखाइमा परिपक्ता पनि देखिन्छ। उहाको एकै दिनमा गीत र पुस्तक विमोचन हुदैछ, यो सुन्दा नै मलाई एकदमै खुसि लाग्यो। उहाको लेखन यात्राले निरन्तरता पाउन यहिँ शुभकामना दिन चाहन्छु।

रोजी लाबूङ राई , गीतकार : यो मेरो रहर मात्र होइन, ईच्छा पनि हो। मैले यसमा आफ्ना भावलाई ब्यक्त गरेकी छु। केहि देखेकी छु, केहि भोगेकी छु अनि केहि कल्पना गरेकी छु। विदेशी भूमिमा भएता पनि मैले लेख्नलाई रोक्न सकिन। गीत लेख्नमा छुटै किसिमको आनन्द छ, यसले मलाई उर्जा थप्ने काम पनि गर्ने गरेको छ।

SUBSCRIBE 👉