नेपाली चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलीज भएको छ। यो गीतको अडियोमा पनि निकै रुचाईएको थियो। ‘लम्फू’को यस गीतको भिडियोमा चलचित्रका मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि देखिएकी छिन्। फिल्मका कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा फ़िचरिङ्ग छन्।
प्रेमिल जोडीले प्रेम साटासाट गरेको भाव व्यक्त हुने गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ। चलचित्रका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमूख भुमिका छ। यस चलचित्रमा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय छ। यो चलचित्रमा एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव पाईने निर्देशक लामिछानेले बताएका छन्। लामिछानेका अनुसार जीन्दगी जिउने सन्दर्भमा समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ।
‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका छन्, जसमा भूपतिको लेखन रहेको छ। दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन्। पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन्। यो चलचित्र २०७५ बैशाख २८ मा रिलीज हुँदैछ।