३१ विधामा कामना फिल्म अवार्ड्स, एक कलासाधकलाई १ लाख नगद सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’


kamana-film-awardग्ल्यामर नेपाल, काठमाडौं । चर्चित फिल्मी पत्रिका कामना मासिकले प्रकाशनको तीस वर्षको मौका पारी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा यस वर्षबाट आयोजना गर्न लागेको ‘कामना फिल्म अवार्ड्स’का लागि आवेदन खुला गरेको छ। आयोजक कामना मासिकले अवार्डमा सहभागी हुनका लागि २०७० साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शित नेपाली फिल्मलाई आवेदन गर्न आव्हान गरेको हो।

आयोजकले अवार्डमा सहभागी हुन इच्छुक नेपाली भाषामा बनेका कथानक फिल्मका निर्माताहरूले कामना न्यूज पब्लिकेसन्स्को कार्यालयमा सम्पर्क राखि फिल्म विकास बोर्डबाट प्राप्त फिल्म निर्माण इजाजतपत्रको फोटोकपिसहित आवेदन दिनसक्ने प्रावधान राखेको छ। च्यारिटी शोका लागि बनाइएका फिल्म भने अवार्डमा सहभागी हुन पाउने छैनन्। आयोजकका अनुसार आगामी असार १ देखि १५ गतेसम्म भरिसक्नुपर्नेछ।

अवार्डलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धी रुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ। कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एकजना कलासाधकलाई १ लाख रुपियाँ नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिने छ। कामना फिल्म अवार्डस्मा मुख्य अवार्ड तर्फ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह–अभिनेता, सह–अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री र बालकलाकार विधामा अवार्ड प्रदान गरिनेछ।

kamana-film-award-logoत्यसै गरी प्राविधिक अवार्डतर्फ सर्वोत्कृष्ट कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, नृत्य निर्देशन, ध्वनि मिश्रण, पाश्र्व संगीत, द्वन्द्व निर्देशन र शृङ्गार विधामा अवार्ड प्रदान गरिनेछ । क्रिटिक्स अवाड तर्फ सिजी संगीत क्रिटिक्स अवार्ड, सिजी फेशन क्रिटिक्स अवार्ड र सिजी नाटक क्रिटिक्स अवार्ड प्रदान गरिनेछ। यसका अलावा एक फिल्म वा कलाकार,प्राविधिकलाई जुरी अवार्डबाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ। कामनाका सम्पादक विदुर गिरीका अनुसार अवार्डको आन्तरिक तयारी जारी छ भने छिट्टै नै अवार्डको तिथि घोषणा गरिनेछ।

पब्लिकेसन्सका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले अवार्डलाई हरेक किसिमले पारदर्शी बनाउने प्रतिबद्धता जनाए। ‘अवार्ड भन्नासाथ निष्पक्षताको कुरा आउने गर्छ, त्यसका लागि हामी सर्वप्रथम अवार्डका हरेक गतिविधिलाई पूर्णरुपमा पारदर्शी बनाउनेछौं। साथै मूल्यांकन प्रक्रियालाई सरल र विवादरहित बनाउनका लागि हरेक विधाको मापदण्ड निर्माण गरेका छौं,’ प्रधानसम्पादक श्रेष्ठले भने, ‘नेपाली फिल्म जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा फिल्मकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको कामना फिल्म अवार्ड्ससँग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने अपेक्षा गरेको छु।’

SUBSCRIBE 👉