‘भ्वाइस अफ नेपाल’ सँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’


साउनबाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ सँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्य गर्ने भयको छ। ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच राजधानीमा पत्रकार सम्मेलन गर्दै सहकार्यको सम्झौता गरिएको हो। क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो। क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए। ‘हाम्रो देशभर ७० वटा डिलर छन्। ती डिलरमार्फत दर्शकले शोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ,’उनले भने,‘अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त गायन रियालिटी शोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो। अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पु¥याउने अभियानमा छौं।’ उनका अनुसार शो आयोजकले शो भइरहेको स्थानमा एक स्टिल उपलब्ध गराई टिसर्ट विक्री पनि गर्नेछ।

‘दी भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग शोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए। ‘हामीले शो शुरु हुनु अघि नै राम्रा ब्राण्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’उनले भने,‘हाम्रो शोसँगै क्याप्सुल ९ को प्रबद्र्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ।’

नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो। विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी शोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन्। नेपाल फ्रेञ्चाइजीको शो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन्।

कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने शोका लागि काठमाडौंको धुम्बाराही–४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ। यो शो जेठबाट प्रसारण हुने तयारी भइरहँदा सोही समयमा विश्वकप फूटबल हुने भएपछि आयोजकले साउन महिनाबाट शोको प्रसारण शुरु गर्न लागेका हुन्।

SUBSCRIBE 👉