
ग्ल्यामर नेपाल, काठमाडौं । शुक्रबारबाट दुई फिल्म रिलिज हुँदैछन्, ‘मुखौटा’ र ‘सुटर’। रमाइलो कुरा के हो भने दुई फिल्मबीच आकाशपातालको फरक छ। अभिनेता अपर्ण थापाले निर्देशन गरेको ‘मुखौटा’मा आधा दर्जनभन्दा बढि चर्चित अनुहारको अभिनय रहेको छ भने भोजपुरीबाट नेपालीमा डबिङ गरिएको ‘सुटर’मा विराज भट्ट मात्र चिनिएका कलाकार हुन्।
त्यसमाथि यो फिल्मको प्रचारप्रसार पनि शुन्यजस्तै छ। जबकी ‘मुखौटा’ले महिना दिन अगाडिबाटै एग्रेसिभ प्रमोशन गरिरहेको छ। सोही कारण ‘मुखौटा’ सामू विराजको ‘सुटर’ हात्तिको मुखमा जिरा हुने विश्लेषण गरिएको छ।
उसो त यस अगाडि पनि प्रतिक्षित फिल्मसँगै विराजका ‘दामिनी’, ‘माया दिउँझैं भो’, ‘प्रतिज्ञा’, ‘सम्राट’लगाएतका फिल्म जुधाएर उनलाई ‘बलिको बोको’ बनाइएको थियो। किनभने तर विनाप्रमोशन रिलिज गरिने त्यस्ता फिल्मले विराजको क्रेज बढाउनुको सट्टा घटाएको छ। खासगरी वितरकहरुको अस्वस्थ प्रतिस्पर्धा र जुंगा लडाईंका कारण उनका फिल्म रिलिज गरिन्छ, सिर्फ हल रिजर्भ गर्ने उद्येश्यले। जसले गर्दा विराजका नियमित दर्शक पनि भड्किरहेका छन्। यसपटक पनि त्यस्तै हुने देखिएको छ।
ठूलो तामझामका साथ रिलिज हुन लागेको ‘मुखौटा’ले सहरका ग्याङस्टारको कथा भन्छ । फिल्ममा राजेश हमाल, सुनील थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, रविन तामाङ, प्रशान्त ताम्राकार, निशा अधिकारी, हर्षिका श्रेष्ठलगाएतका कलाकारको अभिनय रहेको छ ।
