सुनिल–अलिशाको नृत्यले तात्यो पूर्व


धरान । आगामी साउन ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चि मुसी ची’का कलाकारद्वय सुनिल क्षेत्री र अलिशा शर्माले पूर्वको बिर्तामोड र धरानलाई तताएका छन् । फिल्म प्रमोसनका लागि त्यहाँ पुगेका उनीहरुले स्थानीय दर्शकलाई आफ्नो नृत्यमार्फत तताएका हुन् ।

‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागी अलिशा शर्माको आकर्षक नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै अर्का नायक सुशान्त कार्कीले पनि दर्शकलाई नँचाउन पछि परेनन् । यी तिनै कलाकार फिल्ममा प्रमुख भूमिकामा छन् । नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले गीतमार्फत दर्शकलाई नँचाइन् ।

फिल्मका निर्देशक निदेश श्रेष्ठका अनुसार बिर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौं लगायतका स्थानमा फिल्मको प्रमोसन गरिनेछ । फिल्ममा अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता तथा शिवराज कार्की कार्यकारी निर्माता छन् । फिल्ममा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता छन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्यालको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

SUBSCRIBE 👉