सारालाई सलोन र विनोदको यस्तो हुकुम


काठमाडौं । फिल्म ‘सुश्री सम्पत्ति’को पहिलो गीत ‘हुकुम बक्सियोस्’ सार्वजनिक भएको छ । दरबारीया संस्कृतिको झल्को दिने गीतमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिरपालीको अभिनय छ । गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ ।

आफूलाई राजा चरित्रका रुपमा प्रस्तुत गरेका सलोनले गीतमा नायिका सारालाई गीतमार्फत प्रेममा पार्न खोजिएको देखाइएको छ । विशाल राई र मेलिना राईको स्वरमा रहेको गीतमा ८० भन्दा बढी कोरसको प्रयोग गरिएको छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत तथा गम्भीर विष्टको कोरियोग्राफी छ । गीतमा शिवराम श्रेष्ठको छायांकन छ ।

फिल्मका प्रस्तुतकर्ता तथा निर्माता रमेश त्वायनाले ‘हुकुम’ गीतले आफूलाई फिल्म बनाउन प्रेरित गरेको खुलाए ।  फिल्मका निर्देशक सुब्रत आचार्यले फिल्मको गीत कथा सुहाउँदो भएकाले ‘हुकुम’ तयार पारिएको बताए । निर्देशक आचार्यले फिल्म हास्य र सामाजिक कथामा बनेको खुलाए ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीको पनि अभिनय छ भने नायिका प्रियंका कार्की विशेष भूमिकामा छिन् । निर्देशक सुब्रतकै कथा रहेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको पनि लगानी छ । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्ममा अभिमन्यूको पटकथा, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

SUBSCRIBE 👉