नेपाली ‘पासवर्ड’मा बलिउडकी सनी लियोनी


काठमाण्डौं । अहिलेका व्यस्त कलाकार अनुपविक्रम शाहीको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘पासवर्ड’मा बलिउडकी हट नायिका तथा पूर्व पोर्नस्टार सनी लियोनीले नाँच्ने भएकी छन् । एबी इन्टरनेसनलले पहिलो पटक निर्माण गर्न लागेको फिल्ममा सनीले आइटम नृत्य देखाउनेछिन् ।

बेलायत र नेपालमा छायांकन हुने फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा प्रस्तुत गर्नेछन् । द्वन्द्व निर्देशक सम्राट बस्नेतको डेब्यु निर्देशन रहने फिल्ममा विक्की जोशी, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत तथा दुई नवनायिका परी राना, लिसा सुनारको अभिनय रहनेछ ।

सस्पेन्स, एक्सन र थ्रीलर जनरामा बन्ने फिल्म्मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांंकन हुनेछ । फिल्म नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा समेत दर्ता हुनेछ ।

आइतबारदेखि लन्डनमा सुटिङ सुरु हुने फिल्मको लागत ३० करोड भनिएको छ । लन्डन, बर्नमाउथ, ससेक्स लगायतका थलोमा फिल्म छायांकन हुने फिल्म जनवरी २०१९ मा रिलिज हुने सम्भावना छ । अमित बस्नेत र हिरल जोशी निर्माता रहने फिल्ममा सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेतको पटकथा तथा संवाद हुनेछ ।

SUBSCRIBE 👉