एक्सन प्याक्ड ‘दि कर्मा’को फर्स्टलुक: एङग्री लुक्समा देखिए करण


भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’ को फर्स्टलुक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ। भिडियोमा अभिनेता करण लाई मात्र देखाईएको छ। उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ। उनी एङग्री लुक्समा देखिएका छन्। फिल्म एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो बोल्छ। करण ‘मिस्टर इन्डिया २०१७’ का विजेता हुन्।

जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन्। निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो।

नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ। फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ। काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो।

SUBSCRIBE 👉