दार्जिलिङतिर प्रदीप र जसिताको ‘लभ स्टेसन’


चलचित्र ‘लिलीबिली’ का जोडी प्रदीप खड्का र जसिता गुरुङ सोमबार बिहानै पशुपति मन्दिर परिसरमा रातो पहिरनमा देखिए। कहीँ कतै प्रेममा रहेको चर्चा सुनेका प्रदीपका फ्यानहरू उनीहरूलाई पच्छ्याउन थाले। ‘साँच्चै पो रहेछ कि क्या हो ? ’, गाइँगुइँ हल्ला चल्यो। एकैछिनमा क्यामेरासहितको पूरै टोली देखेपछि उनीहरू आफूहरूको शंका भ्रम मात्रै रहेछ भन्दै कार्यक्रममा सहभागी भए।

कार्यक्रम थियो नयाँ फिल्म ‘लभ स्टेसन’ को शुभमुहूर्तको। यो फिल्ममार्फत दोहोरिन लागेको प्रेमिल जोडीसहित अन्य कलाकार र प्राविधिक जम्मा भएपछि मुहूर्त कार्यक्रम सुरु भयो। उज्ज्वल घिमिरेको निर्देशनमा बन्ने फिल्मको टिमले पशुपतिमा पूजा गर्दै मुहूर्त गर्यो। मुहूर्तमा कलाकारहरू प्रदीप, जसिताका साथमा रमेश बुढाथोकी, रश्मी पाण्डे, रवि डंगोल उपस्थित थिए।

यसअघि असोज ५ गतेबाट नै फिल्मको छायांकन सुरु गरिने बताइएको थियो तर छायांकन गर्ने लोकेसनको मौसम खराब भएका कारण केही दिन पर सारिएको हो। फिल्मको छायांकन दार्जिलिङ र सिक्किममा गरिँदै छ। फिल्मको छायांकन आगामी शुक्रबारबाट सुरु हुने निर्माता गोविन्द शाहीले जानकारी दिए। छायांकनका लागि प्राविधिक टोली मंगलबार र कलाकारको टोली बुधबार दार्जिलिङ प्रस्थान गर्दैछन्।

फिल्ममा मिस सिलिगुढी श्रद्धा क्षेत्री, नायिका निरुता सिंह र सरोज खनाललगायतको पनि अभिनय रहने जनाइएको छ। आलोक शुक्लाको छायांकन रहने लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहनेछ। निर्देशक उज्ज्वल घिमिरेकै लेखन रहेको फिल्मको छायांकन ५० दिनमा सकिने बताइएको छ।

अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको फिल्मभन्दा केही पृथक् बन्ने बताए। यो फिल्मको स्क्रिप्ट राम्रो पाएको र सिनियर निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको प्रदीपको भनाइ छ।

अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरे आफैंमा सफल निर्देशक भएकाले उहाँसँग काम गर्ने चाहना पहिलेदेखि नै रहेको बताइन्। काफिया फिल्मससँग पहिला पनि लिलीबिलीमा काम गरेको र यही ब्यानरले प्रदीपसँग आफूलाई चयन गरिएको हुँदा झन् खुसी लागेको जसिताले बताइन्। फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन्। लभ स्टेसन काफिया फिल्मसको ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

SUBSCRIBE 👉