काठमाडौं फर्कियो प्रदिप र जसिताको लभ स्टेसन


इलाम र दार्जिलिङको छायांकनपछि फिल्म ‘लभ स्टेसन’ युनिट काठमाडौं फर्किएको छ। दुई सुन्दर स्थानमा छायांकन सकेर काठमाडौं फर्किएको टिमले राजधानीमा फिल्मको अन्तिम चरणको छायांकन गरिरहेको छ। फिल्म ‘लिली बिली’ का जोडी प्रदिप खड्का र जसिता गुरुङको रोमान्स रहेको फिल्मका दुई गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सक्ने तयारीमा फिल्म युनिट लागेको हो।

उज्जवल घिमिरेको कथा र निर्देशनमा बनिरहेको फिल्म दार्जिलिङ, कालिङपोङ, खर्साङ र मिरिकमा ६० प्रतिशत तथा इलामको पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर फिल्म युनिट काठमाडौं आइपुगेको हो।

फिलमका निर्माता गोविन्द शाहीका अनुसार तिहारसम्ममा फिल्मको छायाँंकन सकिनेछ। ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिशत छायाँकन सक्नेछौं। अब तिहार पछि बाँकी एउटा गीत मनाङमा र एउटा गीत जापानमा खिच्नेछौं,’निर्माता शाहीले भने,‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै फिल्मको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ। लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देशव्यापी सिनेमा हलमा रिलिज गर्नेछौं।’

सांगीतिक प्रेमकथाको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभिनय छ। काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

यो पनि पढ्नुहोस्
>> दार्जिलिङतिर प्रदीप र जसिताको ‘लभ स्टेसन’
>> ‘लभ स्टेसन’मा जसिता र प्रदीपको जोडी

SUBSCRIBE 👉