ग्ल्यामर नेपाल, काठमाडौं। एक दशक बढी समयदेखि चलचित्र पत्रकारिता गरिरहेका पत्रकार लक्ष्मण सुवेदी पहिलोपटक निर्देशन गरेको फिल्म ‘एउटा साथी’को पोष्टप्रोडक्सनको काम नसकिँदै अर्को फिल्म र टेलिफिल्मको निर्देशनमा जुटेका छन्। पाख्रिन फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको फिल्म ‘काल’ र टेलिफिल्म ‘अञ्जली’को पत्रकार सुवेदीले निर्देशन गर्न लागेका हुन्। उनको ‘एउटा साथी’ दशैंको फुलपातीमा रिलिजको तयारी हुँदैछ।
निर्माण हुन लागेका फिल्म तथा टेलिफिल्मको राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा सोमबार बिहान शुभसाइत गरिएको छ। ‘कलाकार, प्राविधिक तथा निर्माताको राम्रो साथ र सहयोग पाएँ भने फिल्म राम्रो बनाउनेछु’ निर्देशक सुवेदीले भने। उनका अनुसार आउँदो भदौको दोस्रो साताबाट ‘काल’ को सुटिङ शुरु हुनेछ। यो फिल्मका कलाकारहरु मनमा फाइनल भइसके पनि प्रक्रियागत रुपमा फाइनल गर्न बाँकी रहेको बताए। फिल्म तथा टेलिफिल्मका प्रस्तुतकर्ता दिनेश पाख्रिन हुन्।
फिल्ममा काले पोखरा, डिबी कार्की, दिक्षा पाख्रिन र ऋषि पाख्रिनलगायतको लगानी रहेको छ। एक्सन लभस्टोरी फ्लेबरको फिल्मको सुटिङ भदौको तेस्रो साताबाट शुरु हुनेछ। फिल्ममा सुशिल पंगेनीको स्क्रिप्ट र सुमन तण्डुकारको छायांकन रहनेछ।
५२ भागको टेलिफिल्म ‘अञ्जली’को छायांकन आगामी सोमबारबाट हुनेछ। निर शाह, लक्ष्मी गिरी, केशव भट्टराई, आयुस्मान कार्की, सोम लामालगायतको अभिनय रहने टेलिफिल्म दशैं पछि टेलिभिजनको पर्दामा आउने निर्देशन सुवेदीले जानकारी दिए। सुशिल र सुमन उप्रेतीको कथा रहेको टेलिफिल्म विशुद्ध पारिवारिक रहनेछ। टेलिफिल्मका छाँयाकार पनि सुमन तण्डुकार नै रहेका छन्।