सिर्जना सुब्बाले गरिन् गर्भावस्थाको फोटोसुट (फोटो फिचर)


आमा बन्नु हरेक नारीका लागी सौभाग्यको कुरा हो। हरेक नारी एक पटक आमा बन्न चाहन्छन् र आमा बन्दै गर्दा उनीहरु निकै उत्साहित हुन्छन्। सन्तानलाई जन्म दिइसकेपछि हरेक आमामा खुसीको सिमा रहन्न। अभिनेत्री सिर्जना सुब्बा आमा बन्न केही दिनमात्रै बाँकी छ। पहिलो सन्तानको व्यग्र प्रतीक्षामा घरमै आराम गरिरहेकी उनले गर्भावस्थाको विशेष फोटासुट गरेकी छिन्।

प्रकृतिसँग फेसनको समायोजनमा आफ्नो अवस्था झल्काएकी हुन्। प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै विभिन्न पोजमा तस्बिर खिचिएको उनले बताइन्। भनिन्, ‘धेरैको मुखबाट सन्तान जन्माउनु परेका कारण आफू करियरमा पछि परेको सुन्ने गरेकी छु। तर, मलाई प्रकृतिले विभेद गर्छ जस्तो लाग्दैन। बरु यो नारीलाई दिएको अवसर हो।’

आफ्नै सम्झनाका लागि खिचिएका तस्बिर सार्वजनिक गर्नुका उद्देश्य भने नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन सघाउनु पनि रहेको उनी बताउँछिन्। ‘सकेसम्म गर्भावस्थाका बारेमा अरुले थाहा नपाओस् लुकाउन खोज्ने गरिन्छ। तर, यो थाहा हुनुपर्छ । यो विशेष अवस्था हो,’ उनले भनिन्।

सेलिब्रिटी संसारमा त अझ विवाह, गर्भावस्था र सन्तानका बारेमा समेत लुकाउने प्रचलन छ। यी विषयमा अरुले थाहा पाउँदा करियर असर पुग्ने मानसिकता छ। सिर्जना भन्छिन्, ‘त्यो भ्रमलाई चिर्न पनि मैले गर्भावस्थाको तस्बिर खिचाएर सार्वजनिक गर्न चाहेकी हुँ।’

गर्भावस्थामै रंगमञ्चमा समेत देखिएकी उनी प्रकृतिले दिएको अवसरमा उत्सव मनाउनुपर्ने बताउँछिन्। भन्छिन्, ‘यो चाहेर आउने समय होइन। त्यसैले यो समयलाई उत्सवका रुपमा मनाउनुपर्छ।’ अभिशेष मास्के र क्लु जैनले खिचेका केहि तस्विर सार्वजनिक गर्दै उनले आफ्नो खुसी सम्पुर्ण सुभचिन्तकहरुसँग साट्न खोजिरहेकी छिन्।

SUBSCRIBE 👉