फिल्म ‘डी-डे’मा एकसाथ देखिएका दुई अभिनेता सँगै अस्ताए


बलिउडका दुई हस्ती अभिनेताको निधन भएको छ। अभिनेता इरफान खानको अप्रिल २९ तारिका दिन निधन भएको थियो भने अर्का अभिनेता ऋषि कपुरको अप्रिल ३० तारिक। लामो समयदेखि क्यान्सरविरुद्ध लडिरहेका यी दुई कलाकारको दुखद निधनकोे खबर विश्वभर छाएको छ। कर्मक्षेत्रका हिसाबले बलिउडका सिने कलाकार भएपनि उनीहरुको कलाअभिनयले विश्वभरका दर्शक तथा कलाप्रेमीलाई उनीहरुको योगदान गहिरो गरी स्मरण गर्ने बनाएको छ।

कलाकार केवल मनोरन्जनका पात्रमात्र नभएर सारा विश्वमा चेतना फैलाउने सचेतनाका सम्बाहक पनि हुन्। समाज, देश र विश्वमा फैलिरहेका नकारात्मक पक्षलाई हटाउन र सकारात्मक पक्षलाई फैलाउने यस अभियानमा यी दुबैको अग्रणी भूमिका रहेको कुरामा कुनै आशंका छैन। केवल चौबीस घण्टाको फरकमा यी दुई हस्ती गुमाउनु भनेको हामी सबैका लागि निकै पीडाको घडी पनि हो। हरेक मानिसको यथार्थता प्रतिबिम्बित गर्ने रंगिन दुनियाँका आज सबैको साझा र उत्तिकै प्रिय रहिआएको छ। कोरोना महामारीले विशव मानव जगतमा ल्याएको अथाह पीडामाथि यी दुई लोकप्रिय कलाकार गुमाउनु पर्दाको क्षणले थप भारी बनाएको छ।

फिल्मी करियर नै पारिवारिक पृष्ठभूमि रहेको कपुर परिवारमा ऋषि कपुर ४ सेप्टेम्बर १९५२ मा भारतको सिनेनगरी मुम्बइमै जन्मिएका थिए। अभिनेता ऋषि कपुर फिल्म डाइरेक्टर राज कपूर र उनकी पत्नी कृष्णाराज कपुरका दोस्रो सन्तान थिए। उनका हजुरबुबा पृथ्वीराज कपुरसमेत अभिनेता थिए। ऋषिको जीवन संगिनी नितु कपुर पनि अभिनेत्री नै हुन्। उनीहरुका दुई सन्तान छन्। छोरा रणवीर कपुर जो अहिलेको सिने जगत्का एक स्थापित अभिनेताको रुपमा चिनिन्छन् भने छोरी ऋदिमा कपुर सहानी एक नामी फेसन डिजाइनर हुन्।

अभिनेता कपुरले काम गरेको पहिलो चलचित्र ‘मेरा नाम जोकर’ हो। यस चलचित्रसँगै कपुरले सिनेमा क्षेत्रमा प्रवेश गरेका हुन्। लैला मज्नु, राफू चक्कर, सरगम, कर्ज, प्रेम रोग, नागिन, हनिमुन, चाँदनी, हिना, बोल राधे बोल र ए वादा रहा, डी-डे उनी अभिनित हिट चलचित्रमा पर्दछन्। कपुरलाई सन् २०१८ मा बोन म्यारो क्यान्सर भएको पत्ता लागेको थियो। नियमित उपचार हुँदै गर्दा २०२० अप्रिल ३० तारिक यस संसारबाट सदाका लागि बिदा भए – ऋषि कपुर।

त्यसै गरी चलचित्र जगत्मा आफ्नै लगन र परिश्रमले सफल भएका बहुप्रतिभाशाली अभिनेता इरफान खानको जन्म ७ जनवरी १९६७ मा राजस्थानको जयपुरमा भएको थियो। पिता यशिन अलि खान र माता सइदा बेगम खानको कोखमा जन्मिएका उनी गरीब पारिवारिक पृष्ठभूमिबाट आएका थिए। उनका बुबा टायरको व्यापारी थिए। पहिलोपटक सलाम बम्बे नामक चलचित्रमा सानो रोल पाएका खानले निकै लगन र परिश्रमपछि आफूलाई बलिउडमा स्थापित गराउन सफल भएका थिए। डी-डे, लन्च बक्स, मदारी, पिकु आदि अभिनेता खानका उत्कृष्ट चलचित्र हुन्। उनी विभिन्न इन्टरनेसनल अवार्डबाट विभूषित कलाकार पनि हुन्।

बलिउडका साथै उनले लाइफ अफ् पाई, द नेमसेक, द स्लमडग मिलिनियर, द माइटी हार्ट, द अमेजिङ स्पाइडरम्यान जस्ता हलिवुड फिल्ममा काम गरेर अन्तर्राष्टिय सिने जगत्मा समेत आफ्नो छुट्टै पहिचान बनाएका छन्। चलचित्रको हरेक भूमिकालाई जीवन्त रुप दिने उनीजस्ता बहुप्रतिभाशाली कलाकार गुमाउन् पर्दा सारा विश्व स्तब्ध भएको छ। २०२० अप्रिल २९ तारिक न्युरोइन्डोक्राइन क्यान्सरबाट निधन भएका खानको जीवन संगिनी सुतपा सिग्दर र दुई छोरा छन्।

आफ्नो वास्तविक जीवन जीउदै गर्दा सामाजाजिक जीवनका चरित्रहरु पर्दामा उतार्न आफ्नो कलाअभिनयमा सजीवता प्रदान गर्ने प्रतिभा युगौंयुगसम्म सबैको स्मरणमा आइरहने छन्।

SUBSCRIBE 👉