दुई कलाकार जोडी विवाह बन्धनमा


अभिनेता श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का / तस्विर सौजन्य: डिसी नेपाल

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्मी पर्दाका चर्चित दुई जोडी अभिनेता श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का सोमबारबाट रियल जोडीका रुपमा जीवन चलाउने भएका छन्। उनीहरुको विवाह राजधानीको तिलगंगास्थित होटल इन्द्रेणीमा वैदिक विधि अनुसार सोमबार हुँदैछ। यो होटल उनीहरु दुवैले संयुक्त रुपमा सञ्चालन गरेका हुन्।

करिब सात वर्ष अघि फिल्म ‘कहाँ भेटिएला’ निर्माण गर्न नायिका खोजिरहेका बेला श्रीकृष्णले नृत्य निर्देशक बसन्त श्रेष्ठको डान्स सेन्टरमा स्वेतालाई भेटेका थिए। स्वेताको सामान्य अडिसन लिएपछि फिल्ममा अनुबन्ध गरेका श्रीकृष्णलाई त्यो बेला ‘लक’ नै लागेको हुनुपर्छ, उक्त फिल्म सुपरहिट भएको थियो। त्यही समयदेखि बढ्दै गएको उनीहरुबीचको निकटतामा प्रेम अंकुराउँदै गएपछि गत जेठ १० गते परिवारको सहमतिमा इन्गेजमेन्ट गरेका थिए। संयोग नै मान्नु पर्छ, त्यही दिन महानायक राजेश हमालको मधु भट्टराईसँग होटल अन्नपूर्ण विवाह बन्धनमा बाँधिदै थिए।

स्रोतका अनुसार श्रीकृष्ण र स्वेताले पूर्ण पारिवारिक जमघटमा विवाह गर्दैछन्। विवाहमा बढी भिड हुने सम्भावना देखिएपछि मिडियालाई विवाहमा प्रतिबन्ध लगाइएको छ। तर बेलुका दिइन लागिएको सांगीतिक पार्टीमा भने सबै निम्तालुलाई बोलाइएको छ।

अनुप बराल र दिया मास्के / तस्विर सौजन्य: बिष्णु सुबेदी

यता रंगकर्मीद्वय अनुप बराल र दिया मास्के पनि सोमबारबाटै बैबाहिक जीवनमा प्रवेश गर्दैछन् । विगत ६ वर्षदेखिको प्रेमलाई उनीहरुले वैवाहिक जीवनमा परिणत गरेका हुन्। उनीहरुले राजधानीको ओएसिस क्याफेमा विवाह गरेका हुन्। स्मरण रहोस्, रंगकर्मी अनुपको यो दोस्रो विहे हो।

SUBSCRIBE 👉