स्रष्टाका सन्तान भन्छन्,‘म्युजिक नेपालले रोयल्टी दिएन’


music-nepal-news

ग्ल्यामर नेपाल, काठमाडौं । नेपालको पुरानो र समृद्ध रहेको म्युजिक कम्पनी म्युजिक नेपाल प्रति संगीतका सर्जकहरुको गुनासो बढ्दै गएको छ। म्युजिक नेपालले विभिन्न कम्पनीबाट निकालिएका अडियो गीतलाई एल्बमको कभर राखेर भिडियो बनाइरहेको कुरा बाहिर आउँदा संगीतका सर्जकहरुले पनि रोयल्टी नपाएको खुलासा भएको छ। नेपाली कला डट कमले उक्त कुराको खुलाशा गरेको हो।

प्रकाशित समाचार अनुसार चर्चित गायिका स्वर्गीय अरुणा लामाका सन्तानले आमाको नामको रोयल्टी लिन धेरै पटक जाउँदा नपाएको गुनासो गरेका छन्। ‘भाई सुप्रितराजले एक पटक आमाको देहवसान पछि रोयल्टी लिएको रहेछ, त्यसपछि हामीले पाएका छैनौं, अरुणाकी छोरी सपना थापाले भनिन्,‘छोरीको नाममा रोयल्टी हुँदैन भनेर मलाई पनि दिएनन्।’

अर्का गायक लोकबहादुर क्षेत्रीका छोरा रोहित क्षेत्री पनि बाबुको नामको रोयल्टी नपाएको गुनासो गर्छन। ‘बुबाको सात मात्र रोयल्टी छ भन्छन् म्युजिक नेपालका कर्मचारी, कहिले दिने हो केही थाहा छैन।’ रोहितले भने। चर्चित गायिका तारादेवीका छोरा रवि श्रेष्ठले पनि आमाको देहान्त पछि रोयल्टी पाएका छैनन्। रोयल्टी नदिने म्युजिक नेपालको काम प्रति उनी आश्चर्य व्यक्त गर्छन्। विभिन्न स्रष्टाको नाममा स्थापित ट्रष्टले रोयल्टी दिए पनि त्यो मात्रा न्यून रहेको पाइएको खबर नेपाली कला डट कमले प्रकाशित गरेको छ।

SUBSCRIBE 👉