वरिष्ठ गायिका थापालाई सहयोग


Tara-Thapa
ग्ल्यामर नेपाल, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी नेपाल सांगीतिक संघकी अध्यक्ष तथा वरिष्ठ गायिका तारा थापालाई संघका तर्फबाट २५ हजार रुपैंयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । केही समय अघि अस्पताल भर्ना गरिएकी थापालाई संघको एक टोलीले आइतबार नगद हस्तान्तरण गरेको हो ।

संघकी कोषाध्यक्ष गायिका रिमा गुरुङ होडाका अनुसार थापाको गत शुक्रबार अपरेशन गरिएको थियो । ‘उहाँलाई आइतबार डिस्चार्ज गरिएको छ, क्यान्सरको सेकेण्ड स्टेज भए पनि अपरेशन पछि एक महिनामा रिर्पोट आउने भनेको रहेछ,’रिमाले भनिन्,‘किमो गरेपछि उहाँलाई ६,७ महिना आराम गर्नुपर्ने सल्लाह डाक्टरले दिएको छ ।’ यस वर्ष मनाइएको विश्व संगीत दिवसको कार्यक्रमबाट उठेको रकमबाट थापालाई सहयोग गरेको रिमाले जानकारी दिईन् ।

टोलीमा संस्थाका महासचिव मिलन मोक्तान, सचिव सन्तोष श्रेष्ठ र सदस्यहरु अजय थापा, निशा देशार, शशी शर्मा मजगैयालगायत थिए । रिमाले गायिका थापाको स्वास्थ्य अवस्था राम्रो पाएको बताईन् । ‘उहाँ नैतिक र मानसिक रुपमा स्वस्थ्य भएको पाएँ, परिवार तथा आफन्तको साथले उहाँ खुशी हुनुहुन्छ,’रिमाले भनिन्,‘ १२ तारिखमा तारा दिदीको हङकङमा कार्यक्रम रहेछ । डाक्टरसँग समन्वय गरेर दुई,तीन हप्ताको आराम पछि त्यता जान मिल्ने रहेछ ।’ वरिष्ठ गायक तथा अभिनेता मदनकृष्ण श्रेष्ठसँग थापाले गाएको गीत ‘सय थरी बाजा एउटै ताल’ चर्चित गीत हो । यसबाहेक ‘तारी न देऊ हे माझी दाई’ र ‘फूल झरे पनि काँडा झर्दैन्’ जस्ता सदाबहार गीतका श्रष्टा हुन् गायिका थापा ।

SUBSCRIBE 👉