दर्शकमाझ पुनरागमन गर्दै नेपाली तारा


Nepali-tara (2)
ग्ल्यामर नेपाल, काठमाडौं । सात वर्षदेखि टेलिभिजनको पर्दा नआएको नेपालकै चर्चित सांगीतिक रियालिटी शो ‘नेपाली तारा’ले दर्शकमाझ पुनरागमन गर्ने भएको छ । सन् २००५ देखि शुरु भएको ‘नेपाली तारा’ सन् २००७ को ‘दोस्रो संस्करण’ पछि टेलिभिजनमा आएको थिएन । आयोजक संस्था निलबाराही फिल्मस्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भदौको दोस्रो हप्तादेखि शोका लागि अडिसन शुरु हुने जानकारी दिएको हो । ‘नेपालमा बढ्दो लोडसेडिङका कारणले टेलिभिजनबाट शो प्रसारण गर्न एकदमै समस्या प¥र्यो, आम दर्शकले सहज रुपमै शो हेर्न पाउने अवस्था भएन,’फिल्मस्का निर्देशक तथा कार्यक्रमका कार्यकारी निर्माता रञ्जित आचार्यले भने,‘त्यो बाहेक निलबाराही फिल्मस्ले आफ्नो स्टुडियो भैसेपाटीमा सारेपछि त्यसको निर्माणमै समय लागेकाले शोलाई निरन्तरता दिन सकिएन ।’ आचार्यले विगतका ‘नेपाली तारा’का शो भन्दा यसपटकको शो विभिन्न कारणले पृथक किसिमको हुने दाबी गरे ।

आयोजकका अनुसार वरिष्ठ संगीतकार प्रकाश गुरुङ, संगीतकार सुरेश अधिकारी र गायक रामकृष्ण ढकाल प्रतियोगितामा निर्णायक रहेका छन् भने पप गायक तथा संगीतकार जेम्स प्रधान र राजन इसानले अन्तिम २० जना प्रतियोगीलाई ‘मेन्टोर जज’को रुपमा प्रशिक्षण प्रदान गर्नेछन् । कार्यक्रम सञ्चालन दोस्रो संस्करणका विजेता सन्तोष लामा र पहिलो संस्करणका रनर–अप धर्मेन्द्र सेवानले गर्नेछन् ।

Nepali-tara (4)‘अडिसनको पहिलो भाग काठमाडौंको डिल्लीबजार, नयाँ बजार र चावहिलका साथै ललितपुर, भक्तपुर, पोखरा, धरान बुटवल र नारायणगढमा शुरु हुँदैछ,’ रञ्जितले भने,‘ कार्यकममा थप उत्साह ल्याउँदै सहभागी बढाउन वाइल्ड कार्ड इन्ट्रिको लागि मोबाइल अडिसन पनि गर्न लागिएको छ, यो मेगा ट्यालेन्ट शोमा करिव २० हजार प्रतियोगिहरुले सहभागिता जनाउने अपेक्षा रहेको छ ।’ उनका अनुसार विशेषत विदेशमा नेपाली दर्शकहरुलाई मध्य नजरमा राख्दै शोलाई युट्युबबाट पनि प्रशारण गरिनेछ । आयोजकले यसपटक कोकाकोलासँग सहकार्य गर्दैछ ।

शोको विजेताले एक मोटरसाइकलसहित २ लाख ५१ हजार नगदसँगै तीन गीत गायनसँगै म्युजिक भिडियोका अवसर पाउनेछन् भने अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा कन्सर्ट गर्ने मौका पाउनेछन् । प्रतियोगिताको टप टेनमा परेका प्रत्येकले ११ हजार रुपैंयाँसँगै ‘टप १०’ एल्वममा एक गीत गाउने अवसर पाउनेछन् । त्यस्तै अन्तिम २० प्रतियोगिहरुले मुख्य साझेदारद्वारा म्युजिक, स्टाइल र व्यक्तित्व विकास गर्ने मौका पाउनेछन् । शोको पहिलो संस्करणबाट दीपक लिम्बु र दोस्रो संस्करणबाट सन्तोष लामा विजेता बनेका थिए ।

SUBSCRIBE 👉