श्रीकृष्णको अनुपस्थितिमा भक्कानिए आकाश


Kohinoor
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्मको प्रमोसनका लागि आयोजना हुने पत्रकार सम्मेलनमा मुख्य कलाकार उपस्थित नभएपछि कार्यक्रम त्यसै खल्लो बन्छ । अझ त्यसमाथि तिनै कलाकार सम्झेर निर्देशक भावुक बनेपछि कार्यक्रमको माहौलमा नै सन्नाटा छाउँछ । नेपा मुभिजको व्यानरमा अभिनेता श्रीकृष्ण श्रेष्ठ प्रस्तुकर्ता रहेको फिल्म ‘कोहिनूर’ ले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तै दृश्य देखियो ।

विवाहपछिको हनिमुन मनाउन विदेश गएका श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको जोडी श्रीकृष्ण बिरामी परेपछि उतै केही समय रहने भएपछि निर्देशक आकाश अधिकारी श्रीलाई सम्झेर भावुक बने। ‘फिल्मको डिजाइनदेखि रिलिज नजिकको अवस्थासम्म सँगै बसेर काम ग¥यौं, मेरो दाँया वा बाँया ठाउँमा श्रीजी बस्नुहुन्थ्यो,’गला अवरुद्ध पार्दै अधिकारीले भने,‘तर उहाँ नै नहुँदा खल्लो महशुस भइरहेको छ । अब हप्तादिन पछि उहाँ फेरी मिडियामाझ आउनु हुनेछ ।’ उनका अनुसार फिल्मको डबिङ चरणमा रहँदा श्रीको घाँटीमा समस्या आएको थियो । हाल नायक श्रेष्ठ दिल्लीमा उपचार गराइरहेका छन् ।

यो फिल्म साउन २३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । कार्यक्रममा फिल्मका संगीतकार शम्भुजित बास्कोटाले फिल्मका संगीतका विविध पक्षमा चर्चा गरेका थिए भने तीनवटा गीतका साथै प्रोमो पनि देखाइएको थियो । करिब एक करोड बढीको बजेटमा निर्माण गरिएको फिल्ममा शंकर श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, शम्भु श्रेष्ठ र स्वेता खड्का लगायतको लगानी रहेको छ । फिल्ममा बसन्त श्रेष्ठको नृत्य, बनिष शाहको सम्पादन, राजेन्द्र खड्गीको द्वन्द्व र राजुविक्रम थापाको छायांकन रहेको छ । यसअघि श्रीकृष्णले ‘कहाँ भेटिएला’ फिल्म बनाएका थिए ।

SUBSCRIBE 👉