फिल्म निर्देशनमा डेब्यु गदै निर्मात्री कृषा चौलागाईं


फिल्म निर्मात्रीको रुपमा स्थापित भैसकेकी कृषा चौलागाईं अब निर्देशकको रुपमा डेब्यू गर्ने भएकी छिन्। इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलास लगायत फिल्म निर्माण गरिसकेकी कृषा चौलागाईँले ‘अ‍ैँचो–पैँचो’ लाई निर्देशन गर्दैछिन्।

सोसल–पोलिटिकल ड्रामामा बन्ने ‘अ‍ैँचो–पैँचो’ मा स्वस्तिमा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहने छ। फिल्ममा वर्षा राउतको समेत अभिनय रहने छ।

फिल्म ‘बुलबुल’ पछि स्वस्तिमा र मुकुनले यो फिल्ममा एकसाथ स्क्रिन सेयर गर्दैछन्। बुलबुलमा यी दुईलाई दर्शकले मन पराएका थिए भने विश्वभरका विभिन्न फिल्म फेस्टिवलमा समेत यो फिल्मलाई मन पराएका थिए। स्वस्तिमा र वर्षा पनि ‘छक्का पञ्जा–२’ पछि एक साथ फिल्ममा देखिन लागेका हुन्। वर्षा, स्वस्तिमा र मुकुनबाहेक यो फिल्ममा विशाल पहारी, कोशिश क्षेत्री, सुशिल सिटौला तथा शारदा गिरीको पनि अभिनय रहने छ।

फागुनको दोस्रो सातादेखि छायांकनमा जाने फिल्मको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन्।