वैशाख २१ मा धीरज मगर स्टारर ‘ज्याकी आईएम ट्वान्टी वान’


रेनशा राई राणा निर्देशित फिल्म ‘आईएम ट्वान्टी वान’ मा ‘ज्याकी’ थपिएको छ। फिल्मको नाम अब ‘ज्याकी आईएम ट्वान्टी वान’ भएको छ। फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ। धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्‍वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ।

‘फिल्मको कथावस्तुलाई अझै प्रमुख चरित्रमा केन्द्रित गर्न नाम परिवर्तन गरेका हौं। हामीलाई आशा छ, फिल्म अझै चरित्र केन्द्रित हुनेछ,’ निर्माता प्रज्वल राणाले भने, ‘आईएम ट्वान्टी वान मात्र राख्दा लक्षित उमेर समूहमा मात्र केन्द्रित हुने भएकाले यसलाई बदलेका हौं।’

छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो। आइकोरको अघिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’देखि अभिनय करिअर थालेका धीरजको निर्माण कम्पनीसँग दोस्रो सहकार्य हो। फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ। फिल्मले सपनालाई पछ्याउने तन्नेरीको कथा भन्छ। देखेको सपनालाई पूरा गर्न परिस्थितिले कसरी चुनौती खडा गर्छ भन्ने कथावस्तुमा फिल्म बनेको हो। कोरोना महामारीयता छायांकन भएको यो फिल्मको अहिले पोस्ट प्रोडक्सन भइरहेको छ।

यो फिल्मलाई प्रज्वल र प्रभुशमशेर जबराले निर्माण गरेका हुन्। फिल्ममा संगीत कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको छ। फिल्मको भने छायांकन सुशन प्रजापतिले गरेका हुन्।


Dhiraj Magar’s Jackie I am 21 hit the screens on May 4th

SUBSCRIBE 👉